काठमाडौं- नेकपा एमालेकी सचिव तथा संसदीय दलकी उपनेता पद्ध्मा अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहप्रति लक्षित गर्दै सार्वभौमिकता भन्दा ठुलो पद नभएको बताएकी छन् । संसदको आजको बैठकमा बोल्दै अर्यालले प्रधानमन्त्रीले दुई महिना अघि नेपालको अखण्डता र सार्वभौमिकताका विरुद्धमा संसदमा बोलेको बोली अविलम्ब सच्याउन पनि माग गरेकी छिन् ।
‘राष्ट्रिय अखण्डता र सार्वभौमिकता भन्दा ठुलो पद होइन । प्रधानमन्त्रीले भारतले नेपालको सिमा मिचेको भन्ने अभिव्यक्ति अविलम्ब सच्याउनु पर्दछ’ अर्यालले संसदमा भनिन् ।
उनले सरकारले भन्ने एउटा र गर्ने अर्को भएको बताएकी छिन् । ‘सरकार सुकुम्बासीलाई व्यवस्थापन गर्ने भन्छ । बसेको ठाउँबाट लखेट्छ ’ उनले भनिन् ‘होल्डिङ सेन्टरबाट पुलिस लाएर निकाल्छ । अब त आफ्नै थातथलोमा फर्काउने भन्छ । यो गैह्र जिम्मेवार काम हो ।’
जनता दुखमा भएको तर प्रधानमन्त्रीलाई जनताको दुखले नछोएको उनले बताएकी छिन् । सर्लाहीका मल लिन गएका किसान भारततिरै थुनिएको अर्यालले बताइन् । ‘सर्लाहीबाट मल लिन भारततिर गएका चार किसान भारतीय जेलमा छन्’ अर्यालले भनिन् ‘प्रधानमन्त्रीलाई के ले छुन्छ ? सरकारलाई के ले छुन्छ ?’ अर्यालले प्रश्न गरिन् ‘सरकार जनताका समस्या समाधान रतिभर गम्भिर छैन । ’
सरकारले जनतालाई कर बढाएर जनजीवन कष्टकर बनाएको उनको भनाइ छ ।


प्रतिक्रिया