काठमाडौं-लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा चेतनारायण आचार्यले नै निरन्तरता पाउने भएका छन्। नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच केन्द्रमा भएको सत्ता सहकार्यको सहमतिपछि लुम्बिनी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने चर्चा चले पनि एमाले नेतृत्वले आचार्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो।
भक्तपुरको गुण्डुमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री चेतनारायण आचार्य तथा पूर्वमुख्यमन्त्री लीला गिरीबीच भएको छलफलमा आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति भएको स्रोतले जनाएको छ।
मुख्यमन्त्री आचार्यले पनि उक्त सहमतिको पुष्टि गरेका छन्। उनका अनुसार अध्यक्ष ओलीले हालको नेतृत्वलाई निरन्तरता दिन निर्देशन दिएका छन्। प्रदेशसभाको कार्यकाल एक वर्ष पनि बाँकी नरहेको, बजेट पारित भइसकेको र सरकारको नेतृत्व फेरबदल गर्दा जनस्तरमा नकारात्मक सन्देश जान सक्ने निष्कर्षका आधारमा नेतृत्व परिवर्तन नगर्ने निर्णय भएको हो।
एमाले र नेकपाबीच केन्द्रमा भएको तीनबुँदे सहमतिमा लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने उल्लेख भए पनि नेतृत्व आचार्यले नै गर्ने कि नयाँ अनुहार आउने भन्ने विषयमा अन्योल थियो। मुख्यमन्त्रीका लागि वर्तमान मुख्यमन्त्री आचार्यसँगै पूर्वमुख्यमन्त्री लीला गिरी, पूर्वमन्त्री भूमिश्वर ढकाल तथा एमाले संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले समेत आकांक्षा राखेका थिए।
अब एमाले र नेकपाबीच लुम्बिनी प्रदेशमा नयाँ सत्ता समीकरणअनुसार सरकार गठन तथा मन्त्रालय बाँडफाँटलगायत विषयमा थप छलफल हुने जनाइएको छ।
एमालेका २९, नेपाली कांग्रेसका २७, नेकपाका १३ (सभामुखसहित), राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, जनमत पार्टीका ३, जनता समाजवादी पार्टी नेपालका २, लोकतान्त्रिक समाजवादी पार्टीका २ तथा राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक स्वतन्त्र सांसद छन् ।


प्रतिक्रिया