अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार पूर्वाग्रही र दोहोरो मापदण्डमा चलेको छ: महासचिव पोखरेल

सरकार पूर्वाग्रही र दोहोरो मापदण्डमा चलेको छ: महासचिव पोखरेल


काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार पूर्वाग्रही सोच र दोहोरो मापदण्डका आधारमा चलिरहेको आरोप लगाएका छन्।

शुक्रबार नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटीले ४८औँ पुष्पलाल स्मृति दिवस तथा श्रावण १५ खिर खाने दिवसको अवसरमा आयोजना गरेको ‘संविधानको रक्षा र भावी चुनौती, एकताबद्ध पार्टी निर्माणमा हाम्रो संकल्प’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

महासचिव पोखरेलले कुनै पनि मुलुकमा शासकले दोहोरो मापदण्ड अपनाउन थाले सुशासन कायम हुन नसक्ने बताए। सुशासनका लागि सबै नागरिक र पक्षप्रति समान व्यवहार आवश्यक रहेको उल्लेख गर्दै उनले सरकारले तेरो-मेरोको दृष्टिकोण त्याग्नुपर्ने धारणा राखे।

‘सुशासनका सन्दर्भमा जब शासकले दोहोरो मापदण्ड प्रयोग गर्न थाल्छ, त्यो मुलुकमा सुशासन सम्भव हुँदैन’, महासचिव पोखरेलले भने।

महासचिव पोखरेलले वर्तमान सरकार सुशासनका सवालमा समेत विभेदपूर्ण व्यवहार गरिरहेको दाबी गरे। जनतालाई भय र त्रासमा राखेर शासन सञ्चालन गर्ने प्रयास भइरहेको भन्दै उनले सरकारको शैली अधिनायकवादी र निरंकुश बन्दै गएको आरोप लगाए।

ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने, लोकतन्त्रका स्तम्भमाथि प्रहार गर्ने, राजनीतिक दलहरूसँग संवाद नगर्ने तथा संसद्बाट निर्वाचित प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नदेखिएको भन्दै पोखरेलले सरकारको आलोचना गरे। ‘ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने, लोकतन्त्रका स्तम्भमाथि प्रहार गर्ने,राजनीतिक दलहरूसँग संवाद नै नगर्ने, संसद्‌बाट बनेको प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नबन्ने ?’, महासचिव पोखरेलले भने  ।

महासचिव पोखरेलले लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र राजनीतिक संवादको संस्कृतिलाई कमजोर बनाउने गतिविधि मुलुकका लागि चुनौतीपूर्ण हुने चेतावनीसमेत दिए।