काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले गरिब जन्माउने नभई गरिबीबाट मुक्त गर्ने पार्टी भएको बताएका छन्।
शुक्रबार नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटीले ४८औँ पुष्पलाल स्मृति दिवस तथा श्रावण १५ खिर खाने दिवसका अवसरमा आयोजना गरेको ‘संविधानको रक्षा र भावी चुनौती, एकताबद्ध पार्टी निर्माणमा हाम्रो संकल्प’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले बताएका हुन्।
महासचिव पोखरेलले सामन्तवादी व्यवस्थाले गरिबी सिर्जना गरेको उल्लेख गर्दै एमालेले त्यसलाई घटाउने र जनतालाई गरिबीबाट मुक्त गर्ने काम गरेको दाबी गरे। महासचिव पोखरेलले भने, ‘एमाले गरिब जन्माउने पार्टी होइन, गरिब त सामन्तवादले जन्माएको हो। त्यो गरिबलाई मुक्त गर्ने पार्टी एमाले हो।’
महासचिव पोखरेलले देशमा गरिबी न्यूनीकरणमा एमाले नेतृत्वका सरकारहरूको महत्वपूर्ण योगदान रहेको दाबी गर्दै पञ्चायती व्यवस्था अन्त्यतिर करिब ४५ प्रतिशत रहेको गरिबीको दर अहिले करिब २० प्रतिशतमा झार्न सफलता हासिल भएको बताए।
कार्यक्रममा महासचिव पोखरेलले संविधानको रक्षा, लोकतान्त्रिक उपलब्धिको संरक्षण तथा पार्टीलाई अझ एकताबद्ध बनाएर आगामी चुनौती सामना गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।


प्रतिक्रिया