अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ब्रड पिक हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुखद् अन्त्य: महासचिव पोखरेल

ब्रड पिक हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुखद् अन्त्य: महासचिव पोखरेल


काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाकिस्तानस्थित ब्रड पिक हिमालमा हिमपहिरो नेपालको पर्वतारोहण इतिहासको दुखद् अन्त्य भएको बताएका छन्। उक्त हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोहीहरूप्रति दुःख व्यक्त गर्दै महासचिव पोखरेलले यस घटनालाई पर्वतारोहणको स्वर्णिम अध्याय रच्ने आरोही गुमाएर नेपालले ठूलो क्षती व्योहोरेको उल्लेख गरेका छन्।

आज एक शोक वक्तव्य जारी गर्दै महासचिव पोखरेलले विश्व पर्वतारोहणको इतिहासमा नयाँ कीर्तिमान कायम गर्दै ८ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरी नेपाल र नेपालीको गौरव विश्वभर चिनाउन सफल पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’ र उहाँका साहसी सहयात्रीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको निधनको खबरले पार्टी स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन्।

महासचिव पोखरेलले विश्व पर्वतारोहणमा असम्भवलाई सम्भव बनाएर साहस, दृढता र सङ्कल्पको अनुपम उदाहरण प्रस्तुत गरेका नेपाली पर्वतारोहीहरू सधैँका लागि हिमालकै काखमा लीन हुनु राष्ट्रका लागि अपूरणीय क्षति भएको बताएका छन्। उनले पर्वतारोहण क्षेत्रसँगै समग्र राष्ट्रले आफ्ना अमूल्य राष्ट्रिय धरोहर र साहसी सन्ततिहरू गुमाएको उल्लेख गर्दै यस घटनालाई नेपालको पर्वतारोहण इतिहासको स्वर्णिम अध्यायको दुःखद अन्त्यका रूपमा चित्रण हुने वक्तव्यमा उल्लेख गरेका छन्।

महासचिव पोखरेलले राष्ट्रका लागि दिवङ्गत पर्वतारोहीहरूले पुर्‍याएको अद्वितीय योगदानको उच्च सम्मान गर्दै पार्टीका तर्फबाट निर्मल पुर्जा ‘निम्स दाई’सहित सबै दिवङ्गत पर्वतारोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् उनले शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभचिन्तकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै यो पीडादायी घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना पनि गरेका छन्।