काठमाडौं-धनुषा जिल्लामा जारी निषेधाज्ञा सोमबार बिहान ५ बजेदेखि हटाइने भएको छ। शनिबार बिहान १० बजेदेखि जारी गरिएको निषेधाज्ञा सोमबार बिहान ५ बजेदेखि हटाइएको जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार साँझ सूचनामार्फत जानकारी गराएको छ।
सरकार र आन्दोलनरत हिन्दुवादी संघ–संस्थाबीच भएको सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिने प्रतिबद्धता आएसँगै निषेधाज्ञा हटाउने निर्णय गरिएको प्रशासनले जनाएको छ।
सुनसरीको कप्तानगञ्जमा भएको घटनापछि मधेश प्रदेशका विभिन्न जिल्लामा आन्दोलन चर्किँदा धनुषासहितका जिल्लामा सुरक्षा अवस्था संवेदनशील बनेको थियो। त्यसपछि सम्भावित अप्रिय घटना रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।

यस्तै, धनुषासँग जोडिएका भारत–नेपाल सीमा नाकाबाट नेपाल प्रवेश गर्ने सबै व्यक्तिका लागि अब परिचयपत्र अनिवार्य गरिएको छ।
आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सीमा नाकाबाट नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिको पहिचान खुल्ने परिचयपत्रका आधारमा सुरक्षा निकायले अभिलेख राख्दै मात्रै प्रवेश गराउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।
प्रशासनका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन तथा सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले उक्त निर्णय गरिएको हो।
साथै, सीमा नाकामा परिचयपत्र अनिवार्य गर्ने व्यवस्था तत्काल कार्यान्वयनमा ल्याइने र सबै नागरिकलाई आवश्यक परिचयपत्र साथमा राख्न आग्रह गरिएको छ।


प्रतिक्रिया