अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुढीगण्डकीमा भीषण बाढी : जगत बगर बगायो, विद्यालय भवनसमेत क्षतिग्रस्त

बुढीगण्डकीमा भीषण बाढी : जगत बगर बगायो, विद्यालय भवनसमेत क्षतिग्रस्त


गोरखा-गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित खारोङ र उङजुलुङको बीचमा सुक्खा पहिरो खसेर स्यार खोला थुनिएपछि बुढीगण्डकी नदीमा भीषण बाढी आएको छ। थुनिएको खोला फुटेर आएको बाढीले नदी किनारका बस्तीमा ठूलो क्षति पुर्‍याएको छ।

बाढीका कारण चुमनुब्री गाउँपालिका–३ का घट्टेखोला, पयुँ, सल्लेरी तथा जगत बगर क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले जगत बगर क्षेत्रलाई पूर्ण रूपमा बगाएको बताइएको छ। यस्तै, घट्टेखोलास्थित विकास प्राथमिक विद्यालयको भवनसमेत बाढीले बगाएको छ।

नदीमा पानीको बहाव एक्कासि बढेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन घर छाडेर डाँडा तथा जंगलतर्फ भागेका छन्। बाढीको तीव्र बहावका कारण उनीहरूले घरबाट लत्ताकपडा, अन्नपात तथा अन्य आवश्यक सामग्रीसमेत निकाल्न नपाएको बताएका छन्।

स्थानीयका अनुसार बुढीगण्डकीमा पानीको बहाव अझै बढिरहेको छ। नदीले सिर्दिबासतर्फ समेत कटान सुरु गरेको बताइएको छ। बाढी थप फैलिन सक्ने जोखिम रहेकाले नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आवश्यक देखिएको छ।

बाढीबाट कति घर तथा अन्य संरचनामा क्षति पुगेको छ भन्ने यकिन विवरण आइसकेको छैन। विपद्ग्रस्त क्षेत्रमा उद्धार तथा क्षतिको विवरण सङ्कलन गर्ने प्रयास भइरहेको बताइएको छ। घटनामा मानवीय क्षति भए–नभएको विवरणसमेत स्पष्ट हुन बाँकी छ।