काठमाडौं- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र धनुषालगायत तराईका विभिन्न स्थानमा धार्मिक तनावसँग जोडिएका हिंसात्मक घटनापछि भएको आन्दोलन र सरकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच भएको वार्ताप्रति प्रश्न उठाएका छन्।
महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै आन्दोलन र वार्ताको प्रक्रियामाथि नै प्रश्न गरेका हुन्। ‘आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाउने, तिनैसँग वार्ता गरेर सम्झौता गर्ने, अनि हिंसाको दोष चाहिँ अरूमाथि थोपर्ने यो जुक्ति गजबको छैन त ?’ भन्दै महासचिव पोखरेलले टिप्पणी गरेका छन्।
महासचिव पोखरेलको यो अभिव्यक्ति धार्मिक तनावपछि सरकार र रास्वपाबीच भएको सहमतिलाई लक्षित गरेर आएको बुझिएको छ। उनले आन्दोलनको प्रकृति, वार्ताको औचित्य र त्यसपछि दोषारोपण गरिएको शैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
सुनसरीबाट सुरु भएको धार्मिक तनाव सिराहा, धनुषालगायत तराईका अन्य जिल्लामा फैलिँदा तीन जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए। घटनापछि विभिन्न स्थानमा आन्दोलन, कर्फ्यु तथा वार्तामार्फत अवस्था सामान्य बनाउने प्रयास गरिएको थियो।
सरकारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै, विभिन्न राजनीतिक दल तथा सरोकारवालाले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षलाई संयम अपनाउन आह्वान गर्दै आएका छन्।
महासचिव पोखरेलको पछिल्लो टिप्पणीले भने आन्दोलनको वास्तविक स्वरूप, सरकारको वार्ता रणनीति र त्यसपछिको राजनीतिक जिम्मेवारीबारे नयाँ प्रश्न खडा गरेको छ।


प्रतिक्रिया