अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टी जागरण अभियान सबै पालिकामा शुरु गर्न महासचिव पोखरेलको निर्देशन

पार्टी जागरण अभियान सबै पालिकामा शुरु गर्न महासचिव पोखरेलको निर्देशन


काठमाडौं-नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ‘मिसन पार्टी जागरण’ पार्टी निर्माणको महत्वपूर्ण अभियान भएकाले सबै पालिकामा सुरु गर्न निर्देशन दिएका छन्। 

पार्टीका प्रदेश कमिटीका पदाधिकारीहरु र मिसन पार्टी जागरणका केन्द्रीय प्रतिनिधिहरुसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको जनतासँग टुटेको सम्बन्धलाई जोड्ने उद्देश्यका साथ शुरु गरिएको यस अभियानलाई सफल पार्न पार्टी कमिटी मात्र नभई जनसंगठनहरु पनि परिचालन गर्ने योजना बनाइएकाले सोही अनुसार परिचालित हुन आग्रह गरेका हुन् ।

पार्टी जागरण अभियान यतिबेला जिल्ला कमिटीहरुका बैठक गरी कार्यक्रम बनाई अगाडि बढाइँदै छ। पार्टीले पालिका तहसम्म केन्द्रीय प्रतिनिधि खटाएको छ।

महासचिव पोखरेलले पार्टी विस्तारको दायरा फराकिलो बनाउन र वर्ग, समुदाय र पेशागत क्षेत्र समेटेर जागरण अभियान सम्पन्न गर्न सुझाए ।

पार्टी सुदृढ बनाउन विचार, संगठन र नेतृत्वमा पुनर्गठन आवश्यक हुने सन्दर्भमा आफ्नो भनाइ राख्दै उहाँले पार्टी सुदृढ बनाउन विचारधाराको महत्वपूर्ण भूमिका हुने हुँदा जनताको बहुदलीय जनवादलाई समृद्ध बनाउँदै आएको स्मरण गराए।
त्यसैगरी महासचिव पोखरेलले संगठनात्मक पुनर्गठनको काम तलैदेखि गर्नुपर्नेमा जोड दिए। पार्टीका स्थानीय कमिटीहरु चलायमान बनाउने कुरामा ध्यान दिनु जरुरी रहेको र त्यसका लागि कमिटीहरु पुनर्गठन, कमिटीमा रिक्त रहेका स्थान पूर्ति लगायतका काम गर्न उहाँले निर्देशन दिए ।

पार्टीमा युवा सहभागिता बृद्धिका लागि विगतमा युवा परिचालन, युवाको नेतृत्व विकास, युवालाई कमिटीमा आरक्षण लगायत नीति अगाडि सारिएको तर व्यवहारमा लागू हुन नसकेको औल्याउँदै महासचिव पोखरेलले पार्टी जागरण अभियान पनि निर्देशन नै निर्देशनमा समय नगुज्रियोस् भन्नेतर्फ ध्यानाकर्षण गराए ।

उहाँले पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउने सन्दर्भमा पार्टीलाई एकताबद्ध बनाएर सुधार र रुपान्तरण गरिने र त्यो काम संस्थागत निर्णयबाट हुने प्रष्ट पारे।
पार्टी सदस्यता नवीकरणको कामलाई सफल बनाउन आग्रह गर्दै समस्या भए पार्टी केन्द्रबाट थप सहजीकरण हुने उहाँले बताए।
महासचिव पोखरेलले मुलुकको वर्तमान राजनीतिक परिस्थितिबारे जानकारी गराउँदै शासकीय अनुभव नभएका मानिसहरु सरकारमा पुगेकाले देश यतिबेला सङ्कटको अवस्थामा गुज्रिरहेको र विभिन्न स्वार्थसमूहहरुले आफ्नो सक्रियता बढाइरहेको बताए।
उनले सरकार शुरुदेखि पूर्वाग्रह र प्रतिशोधपूर्ण ढङ्गले अगाडि बढेको र यतिबेला नियम कानुन लत्याएर स्वेच्छाचारी शासन व्यवस्थातिर उन्मुख रहेकाले कुनै पनि बेला सडक आन्दोलनमा जानुपर्ने हुँदा तयार हुन पनि मातहत कमिटीलाई निर्देशन दिए।


भर्चुअल बैठकमा पार्टीका सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले पार्टी सदस्यता नवीकरणको प्रारम्भिक रिपोर्टबारे जानकारी गराउँदै नवीकरणको काम उत्साहप्रद रहेको बताए । उनले सदस्यता नवीकरणको समयसीमा असार मसान्तसम्म रहे पनि यो पार्टी कामको महत्वपूर्ण पाटो भएकाले यस कामलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । बैठकमा प्रदेश अध्यक्षहरुले मिसन पार्टी जागरण अभियान, पार्टी सदस्यता नवीकरण लगायत विषयमा रिपोर्टिङ गरेका थिए ।