अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार स्वेच्छाचारी दिशातर्फ उन्मुख भएको महासचिव शंकर पोखरेलको आरोप, आन्दोलनका लागि तयार रहन निर्देशन

सरकार स्वेच्छाचारी दिशातर्फ उन्मुख भएको महासचिव शंकर पोखरेलको आरोप, आन्दोलनका लागि तयार रहन निर्देशन


काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार सुरुदेखि नै पूर्वाग्रह र प्रतिशोधको भावनाबाट प्रेरित भएर अघि बढेको आरोप लगाएका छन्। उनले सरकार अहिले नियम–कानुनको अवज्ञा गर्दै स्वेच्छाचारी शासन व्यवस्थातर्फ उन्मुख भइरहेको दाबी गरेका छन्।

पार्टीका प्रदेश कमिटीका पदाधिकारी तथा ‘मिसन पार्टी जागरण’ अभियानका केन्द्रीय प्रतिनिधिहरूसँग सोमबार आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्।

महासचिव पोखरेलले सरकारको कार्यशैली लोकतान्त्रिक मूल्य र मान्यताअनुकूल नरहेको भन्दै पार्टी पंक्तिलाई सचेत र सक्रिय रहन आग्रह गरे।

महासचिव पोखरेलले राजनीतिक परिस्थिति थप जटिल बन्दै गएको उल्लेख गर्दै कुनै पनि बेला सडक आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने भएकाले त्यसका लागि तयार रहन मातहत कमिटीहरूलाई निर्देशन दिएका छन्। उनले विभिन्न स्वार्थ समूहहरूले आफ्नो सक्रियता बढाइरहेको र त्यसले मुलुकको राजनीतिक स्थायित्व तथा सुशासनमा चुनौती थपिरहेको बताए।

उनले शासकीय अनुभव नभएका व्यक्तिहरू सरकारमा पुगेकाले देश अहिले विभिन्न संकटको सामना गरिरहेको टिप्पणी पनि गरे। सरकारको कार्यसम्पादन कमजोर रहेको र त्यसको प्रत्यक्ष असर राज्यका विभिन्न क्षेत्रमा देखिन थालेको उनको भनाइ थियो।

बैठकमा प्रदेश अध्यक्षहरूले ‘मिसन पार्टी जागरण’ अभियानको प्रगति, पार्टी सदस्यता नवीकरण तथा संगठन सुदृढीकरणसँग सम्बन्धित विषयमा आ–आफ्नो रिपोर्ट प्रस्तुत गरेका थिए। एमालेले संगठन विस्तार र जनस्तरसम्म पार्टीको पहुँच मजबुत बनाउने अभियानलाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।