अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ग्यास अभाव र महँगी नियन्त्रण गर्न उपभोक्ता मञ्चको सरकारसँग माग

ग्यास अभाव र महँगी नियन्त्रण गर्न उपभोक्ता मञ्चको सरकारसँग माग


काठमाडौं-उपभोक्ता मञ्च नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको दाबी गर्दै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

मञ्चका प्रवक्ता उज्वलराज गौतमले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा भारतबाट ग्यास आयात, ढुवानी र आपूर्ति सहज रूपमा भइरहे पनि बजारमा ग्यासको अभाव देखिनु र सर्वसाधारण घण्टौँ लाइनमा बस्न बाध्य हुनु कृत्रिम अभाव र कालोबजारीको संकेत भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा ग्यास सञ्चितीकरण गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने तथा बढी मूल्यमा बिक्री गर्ने बिचौलिया र व्यापारीमाथि कारबाही गरी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ।

मञ्चले चाडपर्व नजिकिँदै गर्दा र विपद्को समयमा बजारमा महँगी तथा अभाव चर्किँदा पनि नियमनकारी निकाय प्रभावकारी रूपमा सक्रिय हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेको छ। पछिल्लो समय चामल, दाल, तेल, चिनी, तरकारी, फलफूल, खसी तथा कुखुराको मासु र अण्डालगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढाइएको दाबी पनि मञ्चले गरेको छ।

व्यवसायीहरूले वर्षात् र ढुवानी खर्चलाई मूल्यवृद्धिको कारण देखाए पनि त्यसको कुनै ठोस र औचित्यपूर्ण आधार नभएको मञ्चको भनाइ छ। बजारमा भइरहेको नाफाखोरी, कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न तत्काल संयुक्त तथा प्रभावकारी अनुगमन टोली परिचालन गर्न समेत सरकारसँग आग्रह गरिएको छ।

मञ्चले आधारहीन रूपमा बढाइएको खाद्यवस्तुको मूल्य तत्काल फिर्ता गराउन, बिजुली खपत तथा सवारी–ढुवानी भाडाबाट उपभोक्तामाथि परेको अतिरिक्त भार कम गर्न राहत र सहजीकरणका कार्यक्रम ल्याउन पनि माग गरेको छ।

आम उपभोक्ताको दैनिक जीवनसँग जोडिएका यी विषयमा सरकारले तत्काल प्रभावकारी कदम नचाले उपभोक्ताको हकहित रक्षाका लागि सशक्त विरोधका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी समेत मञ्चले दिएको छ।