अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय राजनीतिको मूलधारबाट वामपन्थी आन्दोलन टाढिँदै गएको छ: शंकर पोखरेल

राष्ट्रिय राजनीतिको मूलधारबाट वामपन्थी आन्दोलन टाढिँदै गएको छ: शंकर पोखरेल


काठमाडौंनेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको वामपन्थी आन्दोलन राष्ट्रिय राजनीतिको मूलधारबाट क्रमशः टाढिँदै गएको बताएका छन्। उनले कम्युनिस्ट आन्दोलनप्रति युवा पुस्ताको आकर्षण घट्दै जाँदा वामपन्थी शक्तिको राजनीतिक प्रभाव कमजोर बन्दै गएको धारणा व्यक्त गरे।

सोमबार काठमाडौँमा आयोजित २४औँ बोत्ले स्मृति विचार गोष्ठीलाई सम्बोधन गर्दै महासचिव पोखरेलले कुनै समय वामपन्थी दलहरूलाई करिब ६० प्रतिशत मत प्राप्त हुने अवस्था रहे पनि अहिले त्यो स्थिति नरहेको बताए।

‘कुनै समय वामपन्थी पार्टीका पक्षमा ६० प्रतिशत हाराहारी मत थियो,’ महासचिव पोखरेलले भने, ‘तर आज हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा पुगेका छौँ।’

महासचिव पोखरेलले नेपालको कम्युनिस्ट आन्दोलन अहिले पहिलो वा दोस्रो होइन, तेस्रो र चौथो स्थानमा पुग्ने अवस्थासम्म खुम्चिएको टिप्पणी गरे। उनले कम्युनिस्ट आन्दोलनको भविष्यप्रति गम्भीर समीक्षा आवश्यक रहेको पनि बताए।

उनका अनुसार पछिल्ला वर्षहरूमा कम्युनिस्ट पार्टीका कार्यक्रमहरूमा नवयुवाको सहभागिता उल्लेखनीय रूपमा घटेको छ। पार्टीको राजनीतिक शैली, सन्देश र कार्यपद्धतिले नयाँ पुस्तालाई आकर्षित गर्न नसकेको उनको स्वीकारोक्ति थियो।

‘हाम्रो राजनीति, अपिल र कार्यशैलीले युवाहरूलाई आकर्षित गर्न सकेको छैन। स्मार्टफोनको युगमा हुर्किएको युवा पुस्ताले छिटो परिणाम खोज्छ, तर हामी त्यसअनुसार आफूलाई रूपान्तरण गर्न सकेका छैनौँ,’ महासचिव पोखरेलले भने।

महासचिव पोखरेलले बदलिँदो सामाजिक, राजनीतिक र प्रविधिमैत्री परिवेशअनुसार कम्युनिस्ट आन्दोलनले आफ्नो कार्यशैली र सोचमा समयानुकूल परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए।