अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सचिव बस्नेतको प्रष्टीकरण– जगन्नाथ थपलिया बोल्दाबोल्दै गला अवरूद्ध भएको हो, ढलेको होइन

सचिव बस्नेतको प्रष्टीकरण– जगन्नाथ थपलिया बोल्दाबोल्दै गला अवरूद्ध भएको हो, ढलेको होइन

भ्रामक समाचार फैलाइयो, तथ्यमा विश्वास गरौं


काठमाडौं-नेकपा (एमाले)का सचिव महेश बस्नेतले बागमती संसदीय दल नेता जगन्नाथ थपलियाबारे केही सञ्चारमाध्यममा आएको समाचार भ्रामक रहेको बताएका छन्।

सोमबार राति अध्यक्ष केपी शर्मा  निवास गुण्डुमा भएको छलफलका क्रममा ‘थपलिया बेहोश भएर ढले’को भन्ने समाचारप्रति प्रतिक्रिया दिँदै सचिव बस्नेतले भ्रामक समाचारमा विश्वास नगर्न आग्रह गरेका हुन्।

छलफलका क्रममा आफ्नो धारणा राख्ने क्रममा थपलिया केही भावुक हुँदा उहाँको गला अवरुद्ध भएको र सामान्य स्वास्थ्य असहजता देखिएको सचिव बस्नेतले स्पष्ट पारेका छन्। उक्त अवस्थालाई तोडमोड गरी अतिरञ्जित रूपमा प्रचार गरिएको उनको भनाइ छ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सचिव बस्नेतले भनेका छन्, ‘आज केही सञ्चारमाध्यमले अध्यक्ष ओली निवासमा भएको छलफललाई लिएर बागमती संसदीय दल नेता जगन्नाथ थपलियाबारे भ्रामक समाचार सम्प्रेषण गरेका छन्। छलफलका क्रममा आफ्नो धारणा राख्ने क्रममा उहाँ केही भावुक हुँदा गला अवरुद्ध भएको र सामान्य स्वास्थ्य असहजता देखिएको अवस्थालाई तोडमोड गरेर प्रचार गरिएको हो। यसलाई अनावश्यक रूपमा अतिरञ्जित नगर्न र यस्ता भ्रामक समाचारप्रति विश्वास नगर्न सबैमा हार्दिक अनुरोध गर्दछु।’

सचिव बस्नेतले बागमती प्रदेश सरकार गठनका विषयमा एमाले र नेकपाबीच भएको सहमतिअनुसार प्रदेशका सांसदहरू र पार्टी नेतृत्वबीच निरन्तर आन्तरिक छलफल भइरहेको पनि बताएका छन्। एमालेको पहिलो प्राथमिकता सहमतिमै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने रहेको उल्लेख गर्दै उनले सहमति जुट्न नसके संसदीय दलको भावना र लोकतान्त्रिक प्रक्रियाअनुसार निर्णय गरिने बताए।

सचिव बस्नेतले एमाले र नेकपा मिल्दा पनि प्रदेश सभामा बहुमतका लागि थप तीन सिट आवश्यक पर्ने अवस्था रहेको भन्दै सबै पक्षलाई समेटेर स्थायी र जिम्मेवार सरकार गठनका लागि पार्टी नेतृत्वले आवश्यक पहल गरिरहेको बताए।

सचिव बस्नेतले बागमती प्रदेश सरकार निर्माणको प्रक्रिया सहमति, लोकतान्त्रिक मूल्य–मान्यता र आवश्यक परे संसदीय प्रक्रियाअनुसार नै निष्कर्षमा पुग्ने उल्लेख गर्दै अफवाहभन्दा तथ्यमा विश्वास गर्न आग्रह गरेका छन्।