अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार जनसरोकार र संसदीय प्रक्रियाप्रति गैरजिम्मेवार बन्यो: सांसद राई

सरकार जनसरोकार र संसदीय प्रक्रियाप्रति गैरजिम्मेवार बन्यो: सांसद राई


काठमाडौं-नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले वर्तमान सरकार जनसरोकारका विषय र संसदीय प्रक्रियाप्रति गैरजिम्मेवार बनेको आरोप लगाएका छन्।

मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद राईले सरकारको कार्यशैली र सार्वजनिक सेवा प्रवाहप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

सांसद राईले पछिल्लो समय मुलुकमा देखिएको खाना पकाउने ग्यासको अभाव र चर्को मूल्यवृद्धिका कारण आमजनता समस्यामा परेको उल्लेख गर्दै सरकारले त्यसप्रति आवश्यक संवेदनशीलता देखाउन नसकेको बताए। जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ थियो।

सांसद राईले संसदको प्रभावकारी सञ्चालनमा पनि सरकार असफल भएको आरोप लगाए। सरकारले संसदलाई पर्याप्त विधेयक तथा अन्य कार्यसूची (बिजनेस) उपलब्ध गराउन नसकेको र संसदीय अभ्यासलाई नै उपेक्षा गरेको उनको टिप्पणी थियो।

सरकारले जनताका दैनिक समस्याको समाधानमा प्राथमिकता दिनुका साथै संसदलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक पहल गर्नुपर्नेमा उनले जोड दिए।