काठमाडौं-सरकारले सुनसरी र सिराहामा हालै भएका हिंसात्मक घटनामा ज्यान गुमाएकाहरूका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने तथा घाइतेहरूको उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए। उनका अनुसार तराई–मधेश क्षेत्रमा भएका घटनाबाट प्रभावित परिवारलाई राहत तथा क्षतिपूर्ति प्रदान गरिनेछ भने घाइतेहरूको उपचारको सम्पूर्ण व्यवस्था सरकारले मिलाउनेछ।
गत साउन ९ गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज क्षेत्रमा दुई समूहबीच विवाद उत्पन्न भएको थियो। विवाद चर्किंदै झडपको अवस्था सिर्जना भएपछि सुरक्षाकर्मीले गोली चलाएका थिए। उक्त घटनामा सुरक्षाकर्मीको गोली लागेर सुनसरीमा तीन जनाको मृत्यु भएको थियो।
कप्तानगञ्ज घटनापछि विभिन्न स्थानमा तनाव फैलिँदा सिराहामा समेत प्रदर्शन भएको थियो। त्यसक्रममा सुरक्षाकर्मीको गोली लागेर सिराहामा एक जनाको मृत्यु भएको थियो। यी घटनामा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।
मन्त्री पोखरेलका अनुसार मन्त्रिपरिषद्ले कप्तानगञ्ज घटनासहित सुनसरी र सिराहाका घटनापीडितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ। साथै घाइतेहरूको उपचारका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाइने सरकारको निर्णय रहेको उनले बताए।


प्रतिक्रिया