काठमाडौं-सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा याङ्की उक्याबलाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्याबलाई लगानी बोर्डको सीईओ नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा उक्त नियुक्ति गरिएको हो।
लगानी बोर्डको सीईओ नियुक्तिका लागि दुई दर्जनभन्दा बढी व्यक्तिले आवेदन दिएका थिए। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संयोजक रहेको सिफारिस समितिले प्रारम्भिक छनोटपछि आठ जनाको नाम संक्षिप्त सूचीमा राखेको थियो। अन्तर्वार्ता र प्रस्तुतीकरणपछि समितिले याङ्की उक्याब, मनोज पौडेल र जितेन्द्र धितालको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो। तीमध्ये उक्याबलाई सरकारले सीईओ नियुक्त गरेको हो।
उक्याब विकास अर्थशास्त्री तथा सार्वजनिक नीति विज्ञका रूपमा परिचित छन्। उनले यसअघि लगानी बोर्डमै परामर्शदाताको रूपमा काम गरेकी थिइन्। सार्वजनिक नीति, दिगो विकास, जलवायु परिवर्तन, आर्थिक विकास, सार्वजनिक लगानी तथा पूर्वाधार विकासका क्षेत्रमा उनको लामो अनुभव रहेको बताइन्छ।
उनले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को प्रशान्त क्षेत्रीय कार्यालय (फिजी) मा वरिष्ठ नीति सल्लाहकारका रूपमा काम गरेकी थिइन्। त्यसअघि यूएनडीपी नेपालमा विकास अर्थशास्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्।
उक्याबले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर अध्ययन पूरा गरेकी छन्। संघीय वित्तीय प्रणाली, विकास अर्थशास्त्र, सार्वजनिक लगानी व्यवस्थापन तथा दिगो विकासका विषयमा उनले विशेष विशेषज्ञता हासिल गरेकी छन्।


प्रतिक्रिया