काठमाडौं-नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकार स्वेच्छाचारी ढंगले अघि बढे जनतासहित एमाले सडक आन्दोलनमा उत्रिन तयार रहेको बताएका छन्।
दाङमा सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले सरकार गठन भएको चार महिना मात्र भएकाले तत्काल विकल्प खोज्ने अवस्था नआएको बताए। तर सरकारले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत गतिविधि अघि बढाए त्यसलाई रोक्न जनस्तरबाट प्रतिरोध हुन सक्ने उनको भनाइ थियो।
महासचिव पोखरेलले मुलुकको संविधान, लोकतन्त्र र जनअधिकारको रक्षाका लागि एमाले प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्यक परे पार्टीका नेता–कार्यकर्तालाई सडकमा उतार्न सकिने बताए। साथै प्रतिपक्षमा रहेका लोकतान्त्रिक शक्तिहरू एकजुट भएर सरकारलाई गलत दिशामा जानबाट रोक्नुपर्नेमा जोड दिए।
महासचिव पोखरेलले राजनीतिक दलहरूले जनताको विश्वास जित्न आफ्ना कमजोरी सुधार गर्दै जानुपर्ने आवश्यकता औंल्याए। एमालेले पनि आत्मसुधारको प्रक्रिया निरन्तर अघि बढाउने उनले बताए।
सुनसरी घटनाको सन्दर्भ उल्लेख गर्दै उनले सुरक्षा निकायले बल प्रयोग गर्दा त्यसको राजनीतिक जिम्मेवारी सरकार र नेतृत्वले लिनुपर्ने धारणा राखे। विगतमा यस्तै घटनाका आधारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठाइएको स्मरण गराउँदै उनले अहिलेको सरकारले पनि आफ्नो कार्यकालमा भएका घटनाको जिम्मेवारीबाट उन्मुक्ति पाउन नसक्ने बताए।
महासचिव पोखरेलले प्रधानमन्त्री र गृहमन्त्रीले विगतका निर्णयबारे आत्मसमीक्षा गर्दै आवश्यक परे माफी माग्नुपर्ने, अन्यथा राजीनामा दिएर कानुनी प्रक्रियाका लागि मार्ग खुला गर्नुपर्ने बताए। शासन सञ्चालनमा दोहोरो मापदण्ड स्वीकार्य नहुने उनको भनाइ थियो।
यसैबीच, पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ गरिएको प्रसङ्ग उठाउँदै महासचिव पोखरेलले सम्पत्ति शुद्धीकरणको नाममा गरिने कारबाहीप्रति आपत्ति जनाए। उनले कालोधन र वैध आम्दानीबीच स्पष्ट भिन्नता हुनुपर्ने उल्लेख गर्दै कर प्रणालीका जटिलताका कारण आयको स्रोत पुष्टि गर्न नसकिएको अवस्थालाई मात्र आधार बनाएर व्यक्तिलाई कालोधनको आरोप लगाउनु उचित नहुने बताए।
नेपालको विद्यमान कर प्रणालीका कारण व्यवसायीहरू अनावश्यक रूपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपको जोखिममा पर्न सक्ने उनको तर्क थियो।


प्रतिक्रिया