अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी सरकारको नेतृत्व विवादबारे अध्यक्ष ओलीले थाले प्रदेश नेतृत्वसँग छलफल

कोशी सरकारको नेतृत्व विवादबारे अध्यक्ष ओलीले थाले प्रदेश नेतृत्वसँग छलफल


काठमाडौँ-कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनको विषयलाई लिएर नेकपा (एमाले) भित्र देखिएको विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नेतृत्वसँग छलफल थालेका छन्।

भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा भइरहेको छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र प्रदेश सचिव राजकुमार भण्डारी सहभागी छन्।

कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनको विषय पछिल्ला दिनहरूमा एमालेभित्र प्रमुख राजनीतिक बहसको विषय बनेको छ। पार्टी सचिव तथा काेशी प्रदेश इन्चार्ज शेरधन राईले अध्यक्षको निर्देशन भन्दै मुख्यमन्त्री कार्कीसँग राजीनामा मागेपछि विवाद सार्वजनिक भएको थियो।

मुख्यमन्त्री कार्कीले भने व्यक्तिगत निर्णयका आधारमा पद नछाड्ने र नेतृत्व परिवर्तनका लागि पार्टीको संस्थागत निर्णय आवश्यक पर्ने अडान राख्दै आएका छन्। उनले पार्टीको औपचारिक निर्णय आए त्यसलाई स्वीकार गर्ने संकेत गरेका छन्।

विवाद बढ्दै गएपछि अध्यक्ष ओलीले प्रदेश नेतृत्वलाई गुण्डु बोलाएर प्रत्यक्ष छलफल सुरु गरेका हुन्। छलफलमा प्रदेश सरकारको नेतृत्व, पार्टीभित्रको समन्वय तथा आगामी राजनीतिक रणनीतिका विषयमा पनि कुराकानी भइरहेको स्रोतले जनाएको छ।

छलफल जारी रहेकाले यसबारे कुनै औपचारिक निर्णय सार्वजनिक गरिएको छैन। एमाले नेतृत्वले भने आन्तरिक संवादमार्फत विवाद समाधान गर्ने प्रयास गरिरहेको बताइएको छ।