काठमाडौं-कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनबारे नेकपा (एमाले) भित्र छलफल तीव्र बनेको छ। यसैक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले साउन २० गते बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भक्तपुरको गुण्डुमा भेटवार्ता गरेका छन्।
छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री कार्कीले आफूले आफ्नो धारणा अध्यक्ष ओलीसमक्ष राखेको र समस्या समाधानका लागि पार्टी नेतृत्वले आवश्यक निर्णय गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘मैले मेरो कुरा राखेर निस्किएको छु। समस्या समाधानको विषयमा अध्यक्षज्यूले निकास दिनुहुनेछ।’
अध्यक्ष ओलीले दोस्रो दिन पनि कोशी प्रदेशको राजनीतिक अवस्थाबारे प्रदेश अध्यक्ष घनश्याम खतिवडा र प्रदेश सचिव राजकुमार भण्डारीसँग छलफल गरेका छन्। पार्टी सचिव तथा प्रदेश इन्चार्ज शेरधन राई भने बैठकमा सहभागी भएका छैन।
मुख्यमन्त्री कार्की बाहिरिएपछि अध्यक्ष ओलीले खतिवडा र भण्डारीसँग छुट्टै छलफल जारी राखेका छन्। प्रदेश सचिव भण्डारीले आफूहरू अध्यक्षसँग निरन्तर छलफलमा रहेको जानकारी दिएका छन्।
कोशी प्रदेशको नेतृत्वबारे एमालेभित्र विभिन्न तहमा परामर्श भइरहेका बेला सम्भावित नेतृत्व परिवर्तनको विषय पनि चर्चामा छ। यद्यपि यसबारे पार्टीको औपचारिक निर्णय सार्वजनिक भइसकेको छैन। मुख्यमन्त्री कार्कीले भने कुनै पनि निर्णय संस्थागत प्रक्रियामार्फत हुनुपर्ने अडान राख्दै आएका छन्।
पार्टी नेतृत्वको आगामी निर्णयले कोशी प्रदेश सरकारको नेतृत्व सम्बन्धी विवादको दिशा तय गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया