काठमाडौं-प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता राम कार्कीले पार्टीबाट अलग भएको घोषणा गरेका छन्। प्रलोपा औपचारिक रूपमा विभाजन भएपछि कार्कीले शुक्रबार सामाजिक सञ्जालमार्फत पार्टीबाट अलग भएको घोषणा गरेका हुन्।
कार्कीले आफू सुरुदेखि नै पार्टीको कुनै पनि कार्यकारी पदमा नरहेको स्पष्ट गर्दै अब ‘मार्क्सिस्ट स्कुल अफ प्राक्शिस’सँग आबद्ध भएर वैचारिक काममा सीमित रहने बताएका छन्।
‘मेरो हकमा म सुरुदेखि नै कुनै पनि कार्यकारी पदमा रहेको थिइनँ। हाल युवा तन्नेरीहरूको पहलमा निर्माणाधीन वैचारिक पाठशाला मार्क्सिस्ट स्कुल अफ प्राक्शिसमा अनुबन्धित रहने प्रतिबद्धता जाहेर गरिसकेकाले म यसै पाठशाला र यसका वरिपरिको काममा सीमित रहनेछु,’ उनले फेसबुकमा लेखेका छन्।
प्रलोपा गठनपछि छोटो समयमै पार्टी विभाजित हुनुमा अधिकांश नेताहरूको राजनीतिक पृष्ठभूमि र निर्वाचनकेन्द्रित सोच प्रमुख कारण रहेको कार्कीको विश्लेषण छ। उनका अनुसार प्रलोपा गठनमा सहभागी अधिकांश नेता संसदीय राजनीतिमा जड भएर बसेका दलबाट भर्खरै बाहिरिएका थिए। त्यसैले उनीहरूका लागि राजनीति पुनः निर्वाचनमुखी बन्न पुगेको उनको भनाइ छ।
‘त्यतिबेला निर्वाचनतर्फ नलागेर प्रगतिशील अभियानतर्फ हामी लागेको भए परिणाम सायद अर्कै हुने थियो,’ कार्कीले उल्लेख गरेका छन्।
पुराना पार्टीहरू विसर्जित भएको घोषणासहित अघि बढेको प्रलोपा निर्वाचनको भुमरीमा फसेपछि आफ्नो वैचारिक अडानमा कायम रहन नसकेको कार्कीको निष्कर्ष छ। उनका अनुसार पार्टीका नेताहरूको एउटा समूह एउटा पुरानो दलसँग नजिकियो भने अर्को समूह अर्को पुरानो दलसँग सहकार्य गर्न पुग्यो।
यसरी निर्वाचनका क्रममा वैचारिक रूपमा विघटन भएको प्रलोपा अहिले आएर संगठनात्मक रूपमा समेत विभाजित भएको उनले बताएका छन्।
बुधबार प्रलोपा गठनमा सहभागी साबिकको नयाँ शक्ति समूह सहमतिमै पार्टीबाट अलग भएको थियो। त्यसपछि प्रलोपा औपचारिक रूपमा दुई धारमा विभाजित भएको हो।
पार्टीबाट अलग भए पनि कार्कीले दुवै समूहबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको बताएका छन्। उनले दुवै समूहलाई आगामी राजनीतिक यात्राका लागि शुभकामना दिएका छन्।
गत फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअघि कार्की नेकपा माओवादी केन्द्रबाट अलग भएका थिए। त्यसपछि मंसिर ७ गते बाबुराम भट्टराई संरक्षक रहेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएको सन्तोष परियार समूहसँग मिलेर प्रलोपा गठन गरिएको थियो।


प्रतिक्रिया