काठमाडौं-नेकपा (एमाले)ले सांसदहरूले पाउने स्वकीय सचिव तथा सहयोगीसम्बन्धी मापदण्ड निर्धारण गर्ने कार्यविधि पारित गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको एमाले संसदीय दलको बैठकले स्वकीय व्यवस्थापनसम्बन्धी कार्यविधि निर्माण गरी अनुमोदन गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले संसद्मा छलफलका क्रममा रहेका विभिन्न विधेयकलाई थप परिमार्जित, प्रभावकारी र जनमुखी बनाउन सांसदहरूलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइएको जानकारी दिइन्। उनले विधेयकहरूबारे गहन अध्ययन, विज्ञहरूसँग परामर्श तथा आवश्यक संशोधन प्रस्ताव दर्ता गरी छलफलमा प्रभावकारी सहभागिता जनाउन जोड दिइएको बताइन्।
अर्यालले सरकारले प्रस्तुत गरेका विधेयकहरू यथावत् रूपमा पारित गर्दा भविष्यमा कानुनी जटिलता र जोखिम उत्पन्न हुन सक्ने भएकाले आवश्यक सुधार र परिस्करण गर्नुपर्ने धारणा राखिन्। उनका अनुसार संसद्को प्रमुख दायित्व गुणस्तरीय कानुन निर्माण भएकाले सांसदहरूले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बैठकको निष्कर्ष रहेको छ।
उनले सरकारले विद्यार्थीलाई सैन्य तालिम दिने जस्ता असान्दर्भिक विषयभन्दा नागरिकका दैनिक जनजीविका, विकास र कानुन निर्माणसँग सम्बन्धित प्राथमिक मुद्दामा केन्द्रित हुनुपर्ने पनि बताइन्। एमालेले संसद्मा प्रस्तुत विधेयकहरूको गुणस्तर सुधार तथा जनचासोका विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने निर्णय गरेको जनाएको छ।


प्रतिक्रिया