काठमाडौँ-नेकपा (एमाले)ले सांसदहरूले परिवारका कुनै पनि सदस्यलाई स्वकीय सचिवका रूपमा राख्न नपाउने निर्णय गरेको छ। एमाले संसदीय दलको शुक्रबार बसेको बैठकले स्वकीय सुविधासम्बन्धी मापदण्ड तथा कार्यविधि पारित गर्दै सो निर्णय पारित गरेको हो।
पारित कार्यविधिअनुसार सांसदले नियुक्त गर्ने स्वकीय सचिव परिवारका सदस्यबाहेकको व्यक्ति हुनुपर्नेछ। यसअघि केही सांसदहरूले आफ्नै परिवारका सदस्यलाई स्वकीय सचिव राखेको विषयमा जनस्तरबाट आलोचना हुँदै आएको थियो।
एमालेले स्वकीय सचिवका लागि न्यूनतम शैक्षिक योग्यता पनि निर्धारण गरेको छ। कार्यविधिअनुसार अधिकृत तहका स्वकीय सचिवका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने उपसचिव तहका स्वकीय सचिवका लागि स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने मापदण्ड तय गरिएको छ।
त्यस्तै सूचना प्रविधि (आईटी) मा दक्षता भएका, कानुनी मस्यौदा तयार गर्न सक्ने, नीति तथा कार्यक्रम र प्रगति प्रतिवेदनको अध्ययन–विश्लेषण गरी मुख्य निष्कर्ष निकाल्न सक्ने व्यक्तिलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ।
कार्यविधिमा कुनै पनि प्रचलित कानुनबमोजिम नैतिक पतन देखिने फौजदारी वा अन्य दण्डनीय कसुरमा अदालतबाट सजाय पाएको व्यक्ति स्वकीय सचिव पदका लागि अयोग्य हुने व्यवस्था गरिएको छ।
एमालेले स्वकीय सचिवको कार्यक्षेत्र सङ्घीय राजधानी काठमाडौँसँगै सम्बन्धित सांसदको निर्वाचन क्षेत्रसमेत हुने स्पष्ट पारेको छ।


प्रतिक्रिया