अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई एमाले महासचिव पोखरेलको सुझाव– ‘एक्लो भएको चिन्ता छाडेर कार्यशैली बदल्नुहोस्’

प्रधानमन्त्रीलाई एमाले महासचिव पोखरेलको सुझाव– ‘एक्लो भएको चिन्ता छाडेर कार्यशैली बदल्नुहोस्’


काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई आफ्नो कार्यशैली परिवर्तन गर्न सुझाव दिँदै सचेत गराएका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमा ‘एक्लै लड्नुपर्ने’ अवस्था आउन सक्ने र ‘सही समय आउन केही समय लाग्ने’ भन्दै हिजाे शुक्रबार मध्येराति सामाजिक सञ्जालमा स्टाटस लेखेपछि महासचिव पोखरेलले त्यसको प्रतिक्रिया दिएका हुन्।

प्रधानमन्त्री शाहले आफूले सुनेको र देखेकोभन्दा वास्तविकता फरक हुन सक्ने भन्दै नआत्तिन आग्रह गरेका थिए। कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउने र यस्तो अवस्था आफ्नो जीवनमा पहिलो पटक नभएको उनको भनाइ थियो।

प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै महासचिव पोखरेलले ‘एक्लो भएको चिन्ता छाडेर कार्यशैली बदल्न’ सुझाव दिएका छन्। उनले प्रधानमन्त्री शाहलाई आफ्नै चुनावी वाचा र प्रतिबद्धता सम्झन, जनमतको सम्मान गर्न तथा संसदीय दल र सार्वभौम संसद्प्रति उत्तरदायी बन्न आग्रह गरेका छन्।

महासचिव पोखरेलले प्रधानमन्त्री शाहले आफ्ना कमजोरीहरू सहर्ष स्वीकार गर्दै सच्याएर अघि बढेमा कहिल्यै एक्लो भएको अनुभूति गर्नुनपर्ने बताएका छन्।

तर, अहिलेको कार्यशैलीलाई निरन्तरता दिए प्रधानमन्त्री शाह एक्लो मात्र नभई पूर्ण रूपमा असफल हुने दाबी पनि उनले गरेका छन्।

‘प्रधानमन्त्रीज्यू, एक्लो भएको चिन्ता छाड्नुहोस्, कार्यशैली बदल्नुहोस्,’ महासचिव पोखरेलले भनेका छन्।

उनले प्रधानमन्त्री शाहलाई आफ्नै दललाई विश्वासमा लिन, संसद्प्रति पूर्ण उत्तरदायी बन्न र जनमतको साँचो सम्मान गर्न आग्रह गर्दै समय छँदै सचेत र गम्भीर बन्नसमेत चेतावनी दिएका छन्।