काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने धारणा सार्वजनिक गरेपछि राजनीतिक वृत्तमा विवाद सुरु भएको छ। उनको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहनकुमार श्रेष्ठले कडा प्रतिक्रिया जनाएका छन्।
ललितपुरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै सांसद ढकालले राजनीतिक परिवर्तनपछि देशका विभिन्न स्थान, संरचना र विमानस्थलहरूको नाम परिवर्तन गरिए पनि सिंहदरबारको नाम भने यथावत रहेको भन्दै प्रश्न उठाए। नेपालमा सिंह नपाइने उल्लेख गर्दै उनले ‘सिंहदरबार’ नामको सान्दर्भिकतामाथि टिप्पणी गरेका थिए। उनले सिंहदरबारको नाम ‘अनामनगर दरबार’ राख्न सकिने भन्दै प्रशासनिक केन्द्रको नाम मात्र होइन, त्यसको कार्यशैली, भाषा र प्रवृत्तिमा समेत परिवर्तन आवश्यक रहेको बताएका थिए।
‘हामीसँग सिंह नै छैन, तर नाम सिंहदरबार छ। परिवर्तनपछि धेरै ठाउँको नाम फेरियो, तर सिंहदरबारको नाम परिवर्तन भएन। त्यसको हाउभाउ, भावभङ्गी र भाषा पनि पुरानै शैलीको छ, त्यसलाई चिर्नुपर्छ,’ ढकालले कार्यक्रममा भने।
ढकालको उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै राप्रपा प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक टिप्पणी गरेका छन्। उनले ढकाललाई ‘उपबुज्रुक’ भन्दै नाम परिवर्तनको तर्कलाई अस्वीकार गरेका छन्।
श्रेष्ठले लेखेका छन्, ‘एउटा उपबुज्रुकले हामीसँग सिंह नै छैन, सिंहदरबार किन राख्ने भनेर सिंहदरबारको नाम फेर्नुपर्ने भनेछन्। जसको मनमा हरि नै छैन, उसको नाम चाहिँ हरि ? गोबर नाम राखे हुन्न ?’
ढकालको प्रस्ताव सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पनि पक्ष–विपक्षमा बहस सुरु भएको छ। कतिपयले प्रशासनिक संरचनाको नामभन्दा कार्यशैली परिवर्तन महत्त्वपूर्ण हुने बताएका छन् भने केहीले ऐतिहासिक र प्रशासनिक महत्व बोकेको सिंहदरबारको नाम परिवर्तनको प्रस्तावलाई अनावश्यक बहसको विषय बनाइएको टिप्पणी गरेका छन्।


प्रतिक्रिया