काठमाडौं-नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विशेष महाधिवेशन विधानअनुसार नै सम्पन्न भएको दाबी गर्दै यससम्बन्धी कानुनी प्रक्रियामा दृढतापूर्वक अघि बढ्ने बताएका छन्। उनले अदालत, निर्वाचन आयोग र महाधिवेशनको हलमा एउटै सत्य प्रस्तुत गरिएको भन्दै त्यसलाई असत्य सावित गर्न नसकिने जिकिर गरे।
केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले विशेष महाधिवेशनविरुद्ध असन्तुष्ट पक्ष अदालत गएको उल्लेख गर्दै आफूहरू कानुनी रूपमा आफ्नो पक्ष मजबुत ढंगले राख्ने बताए। ‘चित्त नबुझेपछि अदालत जानुभएको हो। सानका साथ अदालत जाने, सानका साथ डिफेन्स गर्ने। विशेष महाधिवेशनको हलमा सत्य, निर्वाचन आयोगमा सत्य र अदालतमा सत्य हुने कुरा फेरि असत्य हुँदैन,’ सभापति थापाले भने।
सभापति थापाले आफूलाई दबाब, धम्की वा प्रलोभनबाट प्रभावित बनाउन नसकिने स्पष्ट पार्दै पार्टी विधानको सीमाभित्र रहेर मात्रै काम गर्ने बताए। ‘म तर्साएर तर्सिन्नँ, दबाएर दबिन्नँ र फकाएर फकिन्नँ। मलाई विधान थाहा छ, विधानको सीमाभन्दा बाहिर जाँदिनँ,’ सभापति थापाले भने।
सभापति थापाले नेपाली कांग्रेस चार पुस्ताको सहभागिता रहेको ऐतिहासिक पार्टी भएको उल्लेख गर्दै निवर्तमान सभापति शेरबहादुर देउवासहित पार्टीका वरिष्ठ नेताहरूप्रति सम्मान व्यक्त गरे। उनले देउवा पक्षलाई समेत समेटेर निष्पक्ष र विश्वसनीय १५औँ महाधिवेशन गराउन आफू तयार रहेको बताए।
‘चार पुस्ताको पार्टी हो। मेरो उमेरभन्दा बढी योगदान दिने नेताहरू पार्टीमा हुनुहुन्छ। उहाँहरूप्रति सम्मान छ,’ उनले भने, ‘सबैलाई मिलाएर लैजाने जिम्मेवारी सभापतिको हो, मेरो हो।’
थापाले आगामी महाधिवेशन निष्पक्ष बनाउन आवश्यक पर्ने जुनसुकै व्यवस्था गर्न तयार रहेको उल्लेख गर्दै पार्टीभित्र एकता र सहकार्यको वातावरण निर्माणमा जोड दिए। साथै, उनले गत निर्वाचनमा कांग्रेसका जिम्मेवार नेता–कार्यकर्तामध्ये केहीले पार्टीको चुनाव चिह्न रुखमा मतदान नगरेको विषय आफ्नो नोटिसमा रहेको समेत बताएका छन्।


प्रतिक्रिया