काठमाडौं-नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले विगतमा जनतामाझ छरेका ‘भ्रम र सपना’का पर्दाहरू अहिले सत्तामा पुगेपछि उघ्रिन थालेको बताएका छन्।
महासचिव पोखरेलले रवि-बालेनले विगतमा भ्रम र सपनाको खेती गरेको र उनीहरू अहिले सत्तामा पुगेपछि ती भ्रमका पर्दाहरू उघ्रिन थालेको सामाजिक सञ्जालमा बताएका हुन्।
‘बालेन र रविहरूको हातमा सत्ताको बागडोर नपुगुन्जेल राजनीतिक वृत्तमा अनेकौँ भ्रम र सपनाहरूको खेती तीव्र थियो,’ महासचिव पोखरेलले लेखेका छन्, ‘तर, उनीहरू स्वयम् सत्ताको कुर्सीमा पुगेपछि भने आमजनताका अगाडि भ्रमका पर्दाहरू उघ्रिँदै जाने र यथार्थ बुझ्ने उपयुक्त आधार तयार भएको छ।’
महासचिव पोखरेलले सत्ताको जिम्मेवारीमा पुगेपछि मात्रै पपुलिज्म (लोकप्रियतावाद) को वास्तविक क्षमता परीक्षण हुने बताएका छन्। ‘पपुलिज्म (लोकप्रियतावाद) को वास्तविक क्षमता परीक्षण हुन सत्ताको जिम्मेवारीमै पुग्नुपर्ने रहेछ,’ महासचिव पोखरेलले भनेका छन्, ‘यो नै वर्तमान परिस्थितिको सकारात्मक पक्ष हो।’
पोखरेलले आफ्नो टिप्पणीलाई ‘नकारात्मकताभित्रको सकारात्मकता’ का रूपमा प्रस्तुत गर्दै सत्तामा पुगेपछि रवि र बालेनका राजनीतिक दाबी तथा लोकप्रियतावादको वास्तविकता जनताले बुझ्ने अवसर सिर्जना भएको संकेत गरेका छन् ।



प्रतिक्रिया