काठमाडौँ-हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानकै आसपासमा अवस्थित छ।
यतिबेला मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदलीसहित मौसम सामान्य रहेको छ।
मौसमविद्का अनुसार अहिले कोशी र बागमती प्रदेशका केही ठाउँमा तथा गण्डकी र कर्णालीका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज बिहीबार दिनभर कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लागिरहने छ। मधेस प्रदेश र सुदूरपश्चिमको तराई भू-भागमा भने आंशिक बादल लाग्ने अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा हुनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको समेत सम्भावना रहेको छ।
तराई क्षेत्रतर्फ मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भू-भागका थोरै स्थानमा तथा सुदूरपश्चिमको तराईका एक-दुई स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।


प्रतिक्रिया