अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढी-पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

बाढी-पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध


काठमाडौँ-नेपाल प्रहरीले बिहीबार बिहान ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएको जनाएको छ।

प्रहरीका अनुसार कोशी प्रदेशअन्तर्गत भोजपुरको बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको छ। सो स्थानमा वैकल्पिक बाटोसमेत व्यवस्था गरिएको छ। यस्तै, इलामको राजदुवालीमा अविरल वर्षाका कारण झापादेखि ताप्लेजुङ जोड्ने मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

बागमती प्रदेशका सडकमा पनि बाढी तथा पहिरोको जोखिम उच्च रहेको प्रहरीले जनाएको छ। काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था हेरेर मात्र सवारी सञ्चालन गर्न दिइनेछ।

मकवानपुरको हेटौँडा–ठिङ्गन–बाग्मती–ललितपुर जोड्ने कान्ति लोकपथमा पनि साउन २९ गतेदेखि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत चारकिलो, कोदारी र लिपिङमा पहिरो गएपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाको खाल्टेमा आएको बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड पनि पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ। उक्त सडक खुलाउन लामो समय लाग्न सक्ने अनुमान गरिएको छ।

गण्डकी प्रदेशका केही सडकखण्डमा पहिरो खसे पनि एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ। बागलुङको बेलबगरस्थित कालीगण्डकी करिडोर र लमजुङको बिमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्गमा पहिरोका कारण सडक प्रभावित भए पनि एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको छ। बागलुङको सडकखण्डलाई पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा ल्याउन भने अझै समय लाग्ने प्रहरीले जनाएको छ।

प्रहरीले वर्षाका कारण सडकमा बाढी तथा पहिरोको जोखिम रहेकाले यात्रा गर्दा सडकको अवस्था बुझेर मात्र आवतजावत गर्न तथा सम्बन्धित निकायले जारी गरेका सूचनाको पालना गर्न आग्रह गरेको छ।