अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रविधिमार्फत भ्रम र भावनाको खेती, राजनीतिमा पपुलिजम बढ्दै: शंकर पोखरेल

प्रविधिमार्फत भ्रम र भावनाको खेती, राजनीतिमा पपुलिजम बढ्दै: शंकर पोखरेल


काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले सूचना प्रविधिको तीव्र विकाससँगै मानव सभ्यता, समाज र राजनीतिमा देखिन थालेका सम्भावित जोखिमबारे गम्भीर बहस आवश्यक रहेको बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले प्रविधिको विकासले मानिसको जीवन सहज बनाए पनि यसको अनियन्त्रित प्रयोगले विभिन्न क्षेत्रमा नकारात्मक प्रभाव पारिरहेको उल्लेख गरेका छन्।

महासचिव पोखरेलले प्रविधिको प्रयोगमार्फत भ्रम र भावनाको खेती गरी राजनीतिलाई गलत दिशामा मोड्ने प्रवृत्ति बढ्दै गएको भन्दै राजनीतिमा पपुलिजम (लोकप्रियतावाद) को प्रभावबारे प्रश्न उठाएका छन्।

महासचिव पोखरेलले लेखेका छन्, ‘सूचना प्रविधिको तीव्र विकासले हाम्रो जीवन त सहज बनाएको छ, तर यसको अनियन्त्रित प्रयोगले मानव सभ्यता, समाज र राजनीतिमा कति ठूलो जोखिम निम्त्याउँदै छ? यसबारे सोच्ने बेला आएको छ।’

महासचिव पोखरेलले प्रविधिका सीमित मालिकहरूमा धन र शक्ति केन्द्रित हुँदै गएको भन्दै यसलाई आधुनिक व्यवस्थाको गम्भीर प्रभावका रूपमा औँल्याएका छन्। उनका अनुसार समाज उत्पादनमुखी हुनुको सट्टा उपभोक्ता वा प्रविधिका प्रयोगकर्तामा सीमित हुँदै गएको छ।

त्यस्तै, प्रविधिप्रतिको अत्यधिक निर्भरताले मानसिक तथा शारीरिक स्वास्थ्यमा असर पार्नुका साथै मानिसको मौलिक सिर्जनशीलतामा समेत ह्रास ल्याइरहेको उनको भनाइ छ। परिवार, समाज र राज्य संयन्त्रसमेत प्रविधिको नकारात्मक प्रभावबाट अछुतो नरहेको उनले बताएका छन्।

महासचिव पोखरेलले अब मूल प्रश्न नै प्रविधिलाई हामीले चलाइरहेका छौँ कि प्रविधिले हामीलाई ? भन्ने रहेको उल्लेख गरेका छन्। उनले प्रविधिको अत्यधिक निर्भरता र यसको आर्थिक–राजनीतिक प्रभावले मानिसलाई ‘दलाल पुँजीवादको दास’ बनाउने अवस्था त सिर्जना गरिरहेको छैन भन्ने प्रश्नसमेत उठाएका छन्।

उनले सूचना प्रविधि, पपुलिजम, सम्पत्तिको केन्द्रीकरण, उपभोक्तावाद तथा सामाजिक संरचनामा प्रविधिको प्रभावबारे सार्वजनिक बहस आवश्यक रहेको भन्दै यस विषयमा नागरिकहरूको धारणा माग गरेका छन्।