अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज राजीनामा दिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज राजीनामा दिँदै


धनगढी-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज पदबाट राजीनामा दिने भएका छन्। उनले आज साँझ ५ बजे बस्ने प्रदेशसभा बैठकलाई सम्बोधन गरेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।

प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिन लागेका हुन्। गत असार ३१ गते नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

संविधानअनुसार सरकारलाई दिएको समर्थन फिर्ता भएपछि मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। उक्त समयसीमा आज पूरा हुँदैछ। तर, प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखिएपछि शाहले राजीनामाको बाटो रोजेका हुन्।

यसअघि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक पनि बुधबार बसेको थियो। बैठकमा सरकारको पछिल्लो राजनीतिक अवस्था र मुख्यमन्त्रीको राजीनामाबारे छलफल भएको थियो।

मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। नयाँ सरकार गठनका लागि नेकपा र नेकपा एमालेबीच सहमति भइसकेको बताइएको छ। सहमतिअनुसार नेकपाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी गरिएको छ।

मुख्यमन्त्री शाहको राजीनामापछि प्रदेश प्रमुखले संविधानअनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्। त्यसपछि प्रदेशसभामा रहेको दलहरूको समर्थनका आधारमा नयाँ मुख्यमन्त्री चयन हुने प्रक्रिया अघि बढ्नेछ।