अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रोल्पा पहिरो अपडेट: मृत्यु हुनेको संख्या १० पुग्यो, दुई जना अझै बेपत्ता

रोल्पा पहिरो अपडेट: मृत्यु हुनेको संख्या १० पुग्यो, दुई जना अझै बेपत्ता


काठमाडौं-अविरल वर्षापछि रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारामा बुधबार साँझ गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ। पहिरोमा परेका दुई जना अझै बेपत्ता रहेका छन् भने उनीहरूको खोजी कार्य जारी रहेको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी भुपेन्द्र खत्रीका अनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको थियो। पहिरोले बगाएर लगेको अवस्थामा थप पाँच जनाको शव प्युठानको स्वर्गद्वारी नगरपालिका-९ स्थित माडी खोलाको किनारमा फेला परेको हो। प्युठानमा भेटिएका दुई जनाको शव आंशिक रूपमा मात्र फेला परेको प्रहरीले जनाएको छ।

पहिरोले घर तथा गोठ पुरिँदा कुल १४ जना प्रभावित भएका थिए। घटनामा दुई जना अझै बेपत्ता छन् भने सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा खोज तथा उद्धार कार्य जारी राखेका छन्। घाइते अवस्थामा उद्धार गरिएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्तिमगरलाई थप उपचारका लागि बुटवल पठाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

मृत्यु हुनेहरूमा १८ वर्षीया शान्ति पुन मगर, ६५ वर्षीय कमलबहादुर पुन मगर, ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर लगायत रहेका छन्। अन्य मृतकहरूको पहिचान गर्ने कार्य जारी रहेको जनाइएको छ।

घटनाको जानकारी पाएलगत्तै लुम्बिनी प्रदेशका डीआईजी खत्री घटनास्थल पुगेका छन्। निरन्तर वर्षाका कारण पहिरोको जोखिम कायम रहेकाले स्थानीयवासीलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।