अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्यमन्त्री शाहको विपक्षमा मतदान गर्न एमालेको ह्विप

मुख्यमन्त्री शाहको विपक्षमा मतदान गर्न एमालेको ह्विप


धनगढी-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने तयारी गरेपछि नेकपा एमालेले आफ्ना प्रदेशसभा सदस्यहरूलाई प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। एमाले संसदीय दलको बिहीबार बसेको बैठकले मुख्यमन्त्रीले प्रदेशसभामा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिँदै बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई ह्विप जारी गरेको हो।

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलका अनुसार सत्ता गठबन्धनमा रहेको एमालेले साउन ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका छन्। संविधानअनुसार समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने व्यवस्था रहेको छ। आज उक्त समयसीमाको अन्तिम दिन हो।

मुख्यमन्त्री शाहले विश्वासको मत लिने जानकारीसहित सभामुखलाई पत्र पठाएपछि एमालेले विपक्षमा मतदान गर्न सांसदहरूलाई निर्देशन दिएको हो। यद्यपि कांग्रेस स्रोतका अनुसार मुख्यमन्त्री शाहले प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिने सम्भावनासमेत रहेको बताइएको छ।

यसैबीच, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक आज दिउँसो ३ बजे बस्दैछ। हिजो सरकारी निवासमा बसेको बैठकले आज पुनः छलफल गर्ने निर्णय गरेको थियो। कांग्रेस सांसदहरूका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने वा राजीनामा दिने भन्ने विषयमा आजको बैठकले अन्तिम निर्णय गर्नेछ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार जोगाउन २७ सांसदको समर्थन आवश्यक पर्छ। मुख्यमन्त्री शाहसँग नेपाली कांग्रेसका १८ सांसदको समर्थन रहेको भए पनि सांसद प्रकाश देउवा हाल अमेरिका रहेकाले मत गणित झन् चुनौतीपूर्ण बनेको छ। सरकार टिकाउन कांग्रेसबाहेक थप १० सांसदको समर्थन आवश्यक पर्ने अवस्था छ।

आवश्यक समर्थन जुट्ने सम्भावना कमजोर देखिएपछि कांग्रेसभित्रैका केही सांसदहरूले मुख्यमन्त्रीलाई राजीनामा दिन सुझाव दिएका छन्। आज बस्ने कांग्रेस संसदीय दलको बैठकबाट मुख्यमन्त्री शाहको आगामी राजनीतिक कदमबारे अन्तिम निर्णय हुने अपेक्षा गरिएको छ।