अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनदेवीमा कांग्रेस सभापतिकै हैसियतमा देउवाको कार्यकक्ष,

चुनदेवीमा कांग्रेस सभापतिकै हैसियतमा देउवाको कार्यकक्ष,


काठमाडौं-नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वसभापति शेरबहादुर देउवालाई पार्टीको वैधानिक सभापतिको रूपमा प्रस्तुत गर्दै चुनदेवीस्थित सम्पर्क कार्यालयमा उनको छुट्टै कार्यकक्ष स्थापना गरेको छ। कार्यालयमा देउवाको कार्यकक्ष र टेबुलमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको नेमप्लेट राखिएको हो।

पाँच महिनाको उपचारपछि बिहीबार स्वदेश फर्किएका देउवालाई उनका समर्थक नेता–कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरेका थिए। विमानस्थलबाट उनी सीधै संस्थापन इतर समूहले सञ्चालन गरिरहेको चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेका थिए, जहाँ उनलाई सभापतिको हैसियतमा स्वागत गरिएको थियो।

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेपछि उपचारका लागि सिंगापुर गएका देउवा बिहीबार मात्रै नेपाल फर्किएका हुन्। उनको स्वागत कार्यक्रममा इतर समूहका शीर्ष नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कांग्रेसको विशेष महाधिवेशनबाट २०८३ माघ १ गते गगनकुमार थापा सभापतिमा निर्वाचित भई निर्वाचन आयोग र अदालतबाट समेत मान्यता प्राप्त गरिसकेका छन्। तर, तत्कालीन उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरूले उक्त निर्णयविरुद्ध पुनरावेदन दिएका छन्। हालै सर्वोच्च अदालतले सो विषयमा पुनः सुनुवाइ गर्न आदेश दिएपछि इतर समूहले थापाको नेतृत्वलाई औपचारिक रूपमा अस्वीकार गर्दै देउवाकै नेतृत्वलाई वैधानिक ठहर गरेको छ।

इतर समूहले शुक्रबारदेखि तीनदिने राष्ट्रिय भेला आयोजना गर्दैछ। भेलाको उद्घाटन देउवाले गर्ने कार्यक्रम रहेको नेता प्रकाशशरण महतले जानकारी दिएका छन्। भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले आफूहरूको वैधानिक सभापति देउवा नै रहेको दाबी गर्दै पार्टी एकताको प्रयास भने जारी रहने बताएका छन्।

स्वदेश फर्किएलगत्तै देउवाले पार्टीभित्र देखिएको असहमति र निराशा अन्त्य गर्दै एकताको पक्षमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए। चुनदेवी कार्यालयमा उनको नाममा ‘सभापति’ नेमप्लेट राखिनु र छुट्टै कार्यकक्ष स्थापना गरिनुलाई कांग्रेसभित्रको नेतृत्व विवाद थप स्पष्ट रूपमा सतहमा आएको घटनाका रूपमा हेरिएको छ।