काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेशबाट फर्किएका नेपाली (रिटर्नी)हरूको ज्ञान, सीप, अनुभव र प्रविधिलाई राज्यले नीतिगत रूपमा सम्बोधन गर्दै देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताएका छन्।
रिटर्नी फेडेरेसन नेपालले एमाले केन्द्रीय कार्यालय, च्यासलमा आयोजना गरेको ‘रिटर्नीमैत्री नीति र पुनःएकीकरण: सदनको भूमिका र राज्यको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै पोखरेलले रिटर्नीहरूले उठाएका जायज विषयलाई नीति, ऐन तथा कानुनमै समेट्नुपर्ने बताए।
विदेशबाट फर्किएका जनशक्तिको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्दै ‘ब्रेन ड्रेन’लाई ‘ब्रेन गेन’मा रूपान्तरण गर्ने नीति आवश्यक रहेको उनकाे भनाइ थियो। वैदेशिक रोजगारीबाट प्राप्त लाभलाई अधिकतम बनाउन मौद्रिक तथा सरकारी नीतिसँग जोड्दै रिटर्नी तथा वैदेशिक रोजगारीलाई उत्पादन र आर्थिक विकाससँग जोड्नुपर्ने उनले बताए।
कार्यक्रममा रिटर्नी फेडेरेसन नेपालका अध्यक्ष विनोदप्रसाद भट्टराईले रिटर्नीसम्बन्धी विषय हेर्ने शक्तिशाली आयोग, प्राधिकरण वा छुट्टै विभाग गठन गर्नुपर्ने, विद्यमान नीति, ऐन तथा नियममा आवश्यक संशोधन गर्नुपर्ने तथा रिटर्नीको क्षमता, सीप र अनुभवका आधारमा वर्गीकरण गर्नुपर्ने सुझाव प्रस्तुत गरे ।
एमाले सचिव तथा संसदीय दलका उपनेता पद्मा अर्यालले रिटर्नीसम्बन्धी विद्यमान नीति तथा नयाँ ऐन निर्माणका क्रममा आवश्यक संशोधन र समेट्नुपर्ने विषयमा आफूले पहल गर्ने बताए। रिटर्नीका समस्या र मागलाई संसदमा उठाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
कार्यक्रममा ससदीय दलका प्रमुख सचेतक ऐन महर, प्रतिनिधि सभा सदस्यहरु साजिदा सिद्धिकी , क्षीतिज थेवे , केन्द्रीय सदस्य तथा जनसंगठन समन्वय सयन्त्र प्रमुख विशाल भट्टराई, रिटर्नी फेडेरेसनका इन्चार्ज तथा एमाले केन्द्रीय सदस्य शान्ता चौधरी, एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डे, बौदिक परिषद अध्यक्ष गजेन्द्र थपलिया, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष महाराजा गुरुंग , अध्यक्ष भूमि अधिकार तथा श्रमिक संगठनका अध्यक्ष ईन्द्र तामांग , बैदेशिक रोजगार बोर्डका पूर्व कार्यकारी निर्देशक राजन श्रेष्ठ लगायतको ििवभिन्न जनसंघठनका प्रतिनिधिहरुको सहभागिता थियो।


प्रतिक्रिया