जाजरकोट-अविरल वर्षासँगै आएको बाढीले जाजरकोटको नलगाड नगरपालिकामा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण भेरी करिडोरअन्तर्गतको जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
इलाका प्रहरी कार्यालय रग्दाका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण नलगाड नगरपालिका–१० स्थित तासुघाट खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको हो। बाढीले सडकमा क्षति पुर्याउनुका साथै स्थानीय भौतिक संरचनासमेत बगाएको प्रहरीले जनाएको छ।
बाढीले नलगाड–१० को रोलीमा रहेको झोलुङ्गे पुलको पश्चिमतर्फको भाग बगाएको छ। यस्तै, सोही स्थानमा ढुङ्गा–माटोले बनेका र टिनले छाएका चारवटा घरसमेत बाढीले बगाएको इलाका प्रहरी कार्यालय रग्दाले जनाएको छ।
घर तथा संरचनामा ठूलो क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी सहायक निरीक्षक दिनेश सुनारको कमाण्डमा चारजनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले घटनास्थलको अवस्था तथा क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ।


प्रतिक्रिया