काठमाडौं-सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई जनआस्था साप्ताहिकको कार्यालयबाट जफत गरिएका सामानसहित आगामी भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले यस्तो आदेश जारी गरेको हो। इजलासले प्रहरीले जनआस्थाको कार्यालयबाट बरामद गरेको ल्यापटप, कम्प्युटर र मोबाइलसहित श्रेष्ठलाई अदालतमा उपस्थित गराउन निर्देशन दिएको छ।
प्रहरीले पत्रकार श्रेष्ठलाई २०८३ साउन २७ बुधबार राति ललितपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो। वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
सर्वोच्च अदालतले बरामद गरिएका सामानसहित बन्दीलाई अदालतमा उपस्थित गराउन आदेश दिएको यो दोस्रो घटना हो। यसअघि २०७० भदौ १ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वरिष्ठ अधिवक्ता शम्भु थापाको कानुनी फर्मबाट बरामद गरेका सामानसहित अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको थियो।
श्रेष्ठको पक्षबाट अधिवक्ताहरू टीकाराम भट्टराई र रमेश बडालले बहस गरेका थिए। अब उक्त मुद्दाको थप सुनुवाइ भदौ १ गते हुने भएको छ।


प्रतिक्रिया