अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिममा एमालेबाट को-को बन्दै छन् मन्त्री ?

सुदूरपश्चिममा एमालेबाट को-को बन्दै छन् मन्त्री ?


धनगढी-सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा (एमाले) बाट सहभागी हुने मन्त्रीहरूको टुंगो लागेको छ। एमाले संसदीय दलले दलका उपनेता सन्तोष शर्मा थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो।

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलका अनुसार थापासँगै प्रमुख सचेतक चक्र मल्ल र दमन भण्डारी मन्त्री बन्नेछन् भने जानकी ऐरलाई राज्यमन्त्रीका रूपमा सरकारमा पठाउने निर्णय गरिएको छ।

निर्णयअनुसार चक्र मल्ललाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ भने सन्तोष शर्मा थापाले सामाजिक विकास मन्त्रालय सम्हाल्नेछन्। यस्तै, दमन भण्डारीलाई सत्ता साझेदार नेकपासँगको छलफलपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय वा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमध्ये एकको जिम्मेवारी दिने भएको छ।

राज्यमन्त्रीका रूपमा जानकी ऐरलाई सिफारिस गरिएको एमालेले जनाएको छ। एमालेबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगिएसँगै आजै मुख्यमन्त्रीसहित नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिने तयारी गरिएको छ।

सुदूरपश्चिम प्रदेशमा नयाँ सत्ता समीकरण बनेसँगै एमाले सरकारमा सहभागी हुन लागेको हो। एमालेबाट सरकारमा जाने मन्त्रीहरूको जिम्मेवारी अन्तिम रूप दिन सत्ता साझेदार दलहरूबीच आवश्यक परामर्श जारी रहेको बताइएको छ।