अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ


धनगढी-सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा (एमाले) बाट सहभागी तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले उनीहरूलाई शपथ गराएका हुन्।

एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले सामाजिक विकास मन्त्री, प्रमुख सचेतक चक्रबहादुर मल्लले आर्थिक मामिला मन्त्री तथा दमन भण्डारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीका रूपमा शपथ लिएका छन्। यस्तै, जानकी ऐर बमले आर्थिक मामिला राज्यमन्त्रीका रूपमा शपथ ग्रहण गरेकी छन्।

एमालेले संसदीय दलका उपनेता थापाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेअनुसार तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा पठाएको हो। मन्त्रीहरूको शपथअघि नेकपा संसदीय दलका नेता खगराज भट्टले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका थिए।

मुख्यमन्त्री भट्ट नेकपा (नेकपा) का प्रदेशसभा संसदीय दलका नेता हुन्। नेकपा र एमालेबीच भएको तीनबुँदे सहमतिअनुसार दुई दलको गठबन्धनबाट उनी मुख्यमन्त्री बनेका हुन्। यद्यपि, मुख्यमन्त्री भट्टले शपथ लिए पनि नेकपाबाट भने तत्काल कुनै मन्त्री नियुक्त गरिएको छैन।

यसअघि बिहीबार नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुख मियाँले शुक्रबार भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।