अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशमा एमाले-नेकपाबीच मन्त्रालय बाँडफाँटमा सहमति

कोशी प्रदेशमा एमाले-नेकपाबीच मन्त्रालय बाँडफाँटमा सहमति


विराटनगर-कोशी प्रदेशमा सत्तारूढ नेकपा (एमाले) र सरकारमा सहभागी हुन लागेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेको छ। सहमतिअनुसार एमालेले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय र नेकपाले चार मन्त्रालय सम्हाल्ने भएका छन्।

मन्त्रालयको संख्या टुंगिएसँगै कोशी प्रदेश सरकार पुनर्गठनको तयारी अघि बढेको छ। नेताहरूका अनुसार सोमबार दिउँसो ३ बजे नयाँ मन्त्रीहरूलाई शपथ गराउने तयारी भइरहेको छ।

मन्त्रालय बाँडफाँटबारे एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबीच शीर्ष नेताहरूको उपस्थितिमा भएको छलफलबाट सहमति जुटेको हो।

यद्यपि, कुन दलले कुन–कुन मन्त्रालय सम्हाल्ने भन्ने औपचारिक विवरण भने सार्वजनिक गरिएको छैन। नेकपा नेता आङ्बोले मन्त्रालयको संख्या टुंगिए पनि मन्त्रालयगत जिम्मेवारीबारे अझै सहमति हुन बाँकी रहेको बताएका छन्।

सहमति कार्यान्वयन भए एमालेले मुख्यमन्त्रीसँगै अर्थ तथा आन्तरिक मामिला मन्त्रालय पनि आफूसँगै राख्ने तयारी गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय भने नेकपाको भागमा पर्ने नेताहरूले बताएका छन्।

मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफ्नै नेतृत्वमा राख्न अडान राख्दै आएका थिए। मन्त्रालयगत जिम्मेवारीलाई लिएर तत्काल विवाद नहोस् भन्ने उद्देश्यले विस्तृत विवरण पछि मात्रै सार्वजनिक गर्ने समझदारी भएको स्रोतको भनाइ छ।

मन्त्रालय बाँडफाँटमा सहमति भएसँगै प्रदेश सरकार पुनर्गठनको बाटो खुलेको छ।