नुवाकोट-नुवाकोटको शिवपुरी गाउँपालिका-७ थानाभञ्ज्याङमा बस अचानक गुडेर पार्किङ गरेर राखिएको ईभी माइक्रो भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार शनिबार बिहान करिब ८:२५ बजे बा.प्र.०८–१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडक अगाडि पार्किङ गरी राखिएको बा.प्र.३–००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको थियो। ठक्करपछि बस र ईभी भ्यान सडकबाट करिब ३०–४० मिटर तल भिरमा खसेका थिए।
दुर्घटनामा घाइते भएका पाँचै जनालाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो। तीमध्ये दुई जनालाई अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-८ की अन्दाजी ५४ वर्षीया कृष्णमाया प्रजापति डंगोल र रामेछापको ठाडादेवी गाउँपालिका–२ की अन्दाजी ६५ वर्षीया उदयमाया खत्री रहेका छन्।
दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने अन्दाजी २५ वर्षीया सुजता पोखरेल, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० की अन्दाजी ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने अन्दाजी ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएका छन्। उनीहरू तीनै जनाको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया