काठमाडौं-खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्ताहरूलाई राहत दिन नेपाल आयल निगमले आज काठमाडौंका विभिन्न सात स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र ग्यास उद्योगीहरूसँगको समन्वयमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विभिन्न ब्रान्डका ग्यास बिक्री गरिने निगमले जनाएको छ। नियमित बिक्रेताबाट ग्यास प्राप्त गर्न नसकी अत्यावश्यक परेका उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएर तोकिएका बिक्री केन्द्रमा गई ग्यास खरिद गर्न सक्नेछन्।
निगमका अनुसार ग्यास वितरण हुने स्थान र उपलब्ध ब्रान्डहरू यसप्रकार छन् :
- निगमको टेकु परिसर : नेपाल, एचपी, एभरेष्ट, सुगम, श्रीराम र सगर
- पशु सेवा शाखा, चपली, बुढानीलकण्ठ : नेपाल, एचपी र भानु
- राधास्वामी, कीर्तिपुर परिसर : नेपाल, एचपी, एभरेष्ट, सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया
- नयाँ बजार जुडो हल परिसर : नेपाल, एचपी र ओम
- तारकेश्वर नगरपालिका परिसर : नेपाल र एचपी
- चन्द्रागिरि नगरपालिका कार्यालय : लोकप्रिय, नेपाल, एचपी र श्रीमाया
- राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी : नेपाल, एचपी, सूर्य, सगर, एभरेष्ट, सुगम र एसटीसी
निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र बिक्रेतामार्फत समेत वितरण जारी रहेको जनाएको छ। अत्यावश्यक परेका तथा नियमित बिक्रेताबाट ग्यास प्राप्त गर्न नसकेका उपभोक्तालाई मात्र तोकिएका केन्द्रमा पुगेर ग्यास खरिद गर्न निगमले आग्रह गरेको छ।
निगमका अनुसार शनिबार काठमाडौंका पाँच स्थानबाट ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास बिक्री–वितरण गरिएको थियो। आज थप सात स्थानबाट वितरण गर्न लागिएको हो।


प्रतिक्रिया