रूपन्देही-लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पामा पछिल्लो पाँच दिनमा पहिरोका कारण १८ जनाको मृत्यु भएको छ।
गएराति लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा थप एक जनाको मृत्यु भएपछि मृतकको संख्या १८ पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
प्रहरीका अनुसार पहिरोमा परी ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो। घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट पहिरो खसेर घर पुरिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए।
यसअघि बुधबार थबाङ गाउँपालिकामा पहिरोले बस्ती नै बगाउँदा १३ जनाको मृत्यु भएको थियो। उक्त घटनामा अझै एक जना बेपत्ता छन् भने दुई जनाको बुटवलमा उपचार भइरहेको छ।
त्यस्तै, बिहीबार सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ र गिट्ठेमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको थियो।
लगातार भइरहेको वर्षाका कारण रोल्पाका विभिन्न स्थानमा पहिरो जाने क्रम नरोकिएको प्रहरीले जनाएको छ। वर्षाका कारण जिल्लाका ग्रामीण सडक तथा बस्तीहरूमा समेत जोखिम बढेको छ।


प्रतिक्रिया