काठमाडौँ-भारतीय प्रधानसेनापति धिरज सेठ नेपाल भ्रमणमा आउने भएका छन्। सन् २०२६ जुन ३० मा भारतीय सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका सेठ आइतबार अपराह्न ४ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ।
नेपाल भ्रमणका क्रममा भारतीय प्रधानसेनापति सेठलाई सोमबार नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ। नेपाल र भारतका सेनाबीच सन् १९५० देखि नै एकअर्काका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ।
यसै परम्पराअनुसार नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरिसकेका छन्। गत मङ्सिर २७ गते नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानसेनापति सिग्देललाई मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन्।
नेपाल र भारतका प्रधानसेनापति नियुक्त भएपछि एकअर्काको देशमा औपचारिक भ्रमण गर्ने परम्परा पनि रहँदै आएको छ। भारतीय प्रधानसेनापति सेठको नेपाल भ्रमणलाई दुई देशका सेनाबीचको परम्परागत सम्बन्ध र सहकार्यलाई निरन्तरता दिने महत्वपूर्ण भ्रमणका रूपमा हेरिएको छ।


प्रतिक्रिया