काठमाडौं-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्टहरू सङ्घर्ष र विद्रोहमा सफल भए पनि राज्यसत्ता सञ्चालनमा भने आमरूपमा कमजोर देखिएको बताएका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार हुँदा आधारभूत वर्ग र समुदायका जनता नै कम्युनिस्ट पार्टीबाट किन टाढिए भन्ने विषयमा निर्मम समीक्षा आवश्यक रहेको बताएका हुन्। उनले यस्तो समीक्षा नगरी कम्युनिस्ट आन्दोलनको पुनर्जागरण सम्भव नहुने उल्लेख गरेका छन्।
महासचिव पोखरेलका अनुसार कम्युनिस्ट आन्दोलनमा अधिकार र सङ्घर्षका विषयमा धेरै चर्चा भए पनि समाज परिवर्तनको मुख्य आधार ‘अर्थराजनीति’को विषय उपेक्षित रह्यो। क्रान्तिपूर्व ‘सरकार शक्ति सञ्चयको आधार हो’ भन्ने मान्यता व्यवहारमा लागू हुन नसक्दा सरकारमा पुगेपछि आमरूपमा शक्ति क्षयीकरण हुने अवस्था देखिएको उनले बताएका छन्।
कम्युनिस्ट नेतृत्वका सरकारहरूले देशभक्ति, पूर्वाधार विकास र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेख्य काम गरे पनि त्यसअनुसार जनसमर्थन बढ्न नसकेको पोखरेलको विश्लेषण छ। बरु कतिपय अवस्थामा जनसमर्थन घट्दै गएको महासचिव पोखरेल बताएका छन्।
महासचिव पोखरेलले २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार र २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको नौमहिने वामपन्थी सरकारबाहेक अन्य कुनै पनि वामपन्थी नेतृत्वका सरकारले जनमत बढाउन नसकेको दाबी गरेका छन्।
आम निर्वाचन २०८२ मा सिंगो वामपन्थी आन्दोलनले बेहोर्नुपरेको ‘असाधारण धक्का’ले वाम तथा कम्युनिस्ट आन्दोलनबारे नयाँ ढङ्गले चिन्तन र मनन गर्नुपर्ने अवस्था सिर्जना गरेको उनको भनाइ छ।
महासचिव पोखरेलले कम्युनिस्ट पार्टी नेतृत्वको सरकार हुँदा आधारभूत वर्ग र समुदायका जनता किन टाढिए तथा नेता र कार्यकर्तामा सामाजिक परिवर्तनप्रतिको हुटहुटी किन कमजोर भयो भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्।
महासचिव पोखरेलले हरेक समस्याको पछाडि कुनै न कुनै कारण हुने र त्यसको समाधान पनि त्यही कारणभित्र निहित हुने मार्क्सवादी मान्यता रहेको उल्लेख गर्दै समस्याबाट भाग्ने नभई त्यसको सामना गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।


प्रतिक्रिया