काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू हवाई यात्रा गर्दा विमानस्थलमा पटक-पटक कडा चेकजाँच गरिएकोप्रति आपत्ति जनाएका छन्।
साउन ३० गते शनिबार इलाम पुगेका अध्यक्ष ओलीले लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै विमानस्थलमा आफूलाई अपराधीलाई जस्तो व्यवहार गरिएको गुनासो गरेका हुन्।
विमानस्थलमा मेटल डिटेक्टर प्रयोग गरी पटक-पटक शरीर जाँच गरिएको र विभिन्न स्थानमा छामछुम गरिएको भन्दै अध्यक्ष ओलीले रोष प्रकट गरे। उनले एकपटक जाँच गरिसकेपछि पुनः विभिन्न ठाउँमा जाँच गर्नुको औचित्यमाथि प्रश्न उठाए।
‘मेटल डिटेक्टर लगाएको छ, यो गर्या छ, उ गर्या छ। के निकाल्न खोज्या ? के बरामद गर्न खोज्या ?’ अध्यक्ष ओलीले भने।
अध्यक्ष ओलीले काठमाडौँदेखि भद्रपुरसम्म आफूलाई पटक-पटक जाँच गरिएको उल्लेख गर्दै यस्तो व्यवहारप्रति असन्तुष्टि जनाए। ‘पल्टाई-पल्टाइकन छाम्छ, के भेटिन्छ भनेर हो। के छाम्या हो यिनले मेरो शरीरमा ?’ अध्यक्ष ओलीले प्रश्न गरे।
अध्यक्ष ओलीले आफू कुनै आपराधिक गतिविधिमा संलग्न व्यक्ति नभएको भन्दै विमानस्थलमा हुने सुरक्षा जाँचको शैलीप्रति व्यंग्यसमेत गरे। ‘म न गँजडी, न जड्याहा, न ड्रगिस्ट, न के। के खोज्या हो ? न मसँग १९० तोला सुन, न कतै लुकाएको केही छ,’ अध्यक्ष ओलीले भने।
अध्यक्ष ओलीले विमानस्थलमा यात्रुको शरीरमा पटक-पटक जाँच गरिए पनि सीमाबाट हुने तस्करी नियन्त्रणमा प्रभावकारी काम हुन नसकेको टिप्पणी गरे। ‘ट्रकका ट्रक तस्करी सिमानाबाट भएको भइछ। एअरपोर्टमा चाहिँ मेरो शरीरमा डिटेक्टर लाउँछ,’ अध्यक्ष ओलीले भने।
अध्यक्ष ओलीले विमानस्थलमा हुने चेकजाँचलाई ‘तमासा’को संज्ञा दिँदै एक ठाउँमा जाँच गरिसकेपछि पुनः अर्को ठाउँमा जाँच गर्ने प्रवृत्तिमाथि प्रश्न उठाए।
अध्यक्ष ओलीले विमानस्थलको सुरक्षा जाँचप्रति सार्वजनिक रूपमा आपत्ति जनाएको यो दोस्रोपटक हो। यसअघि गत माघमा पनि उनले आफूलाई सुन तस्करलाई जस्तो व्यवहार गरिएको भन्दै विमानस्थलको चेकजाँचप्रति असन्तुष्टि जनाएका थिए।


प्रतिक्रिया