अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘मिसन पार्टी जागरण’ शुभारम्भ गर्न अध्यक्ष ओली झापामा

‘मिसन पार्टी जागरण’ शुभारम्भ गर्न अध्यक्ष ओली झापामा


झापा-नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ‘मिसन पार्टी जागरण अभियान’ शुभारम्भ गर्न आइतबार झापा पुगेका छन्।

अध्यक्ष ओलीले एमाले झापाले आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान’ को उद्घाटन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा उनले पार्टीको संगठन सुदृढीकरण, कार्यकर्ता जागरण, जनतासँगको सम्बन्ध विस्तार तथा आगामी राजनीतिक अभियानका विषयमा सम्बोधन गर्ने बताइएको छ।

अध्यक्ष ओली प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलोपटक उपत्यकाबाहिरको राजनीतिक कार्यक्रममा सहभागी हुन शनिबार इलाम पुगेका थिए। इलामको सूर्योदय नगरपालिकास्थित फिक्कलमा आयोजित एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकको उद्घाटन कार्यक्रममा सहभागी हुन उनी झापा हुँदै इलाम पुगेका हुन्।

इलाम जाने क्रममा ओली चन्द्रगढी विमानस्थलमा अवतरण गरेका थिए। उनलाई स्वागत गर्न एमाले नेता, कार्यकर्ता तथा समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो। विमानस्थलमा नेता–कार्यकर्ताले ओलीलाई फूलमाला तथा खादा लगाएर स्वागत गरेका थिए।

चन्द्रगढी विमानस्थलबाट स्थलमार्ग हुँदै इलामको फिक्कल पुगेका ओली शनिबार इलाममै बसेका थिए। एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार आइतबार बिर्तामोडमा हुने ‘मिसन पार्टी जागरण अभियान’ को उद्घाटनपछि ओली काठमाडौं फर्किने कार्यक्रम छ।

निर्वाचनपछि पहिलोपटक गृह जिल्ला झापा हुँदै इलाम पुगेका अध्यक्ष ओलीको आगमनलाई एमाले नेता तथा कार्यकर्ताले विशेष महत्वका साथ लिएका छन्। ओलीको राजनीतिक यात्रा झापा आन्दोलनसँग जोडिएको छ भने झापा उनको राजनीतिक जीवनको महत्वपूर्ण आधारभूमिका रूपमा परिचित छ।

झापा तथा इलाम बसाइका क्रममा ओलीले पार्टीका विभिन्न कार्यक्रमहरूमा सहभागी हुनुका साथै नेता तथा कार्यकर्तासँग भेटघाटसमेत गर्ने एमाले नेताहरूले बताएका छन्।