अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवाको सहभागिता नारामा सीमित हुनु हुँदैन: पूर्वराष्ट्रपति भण्डारी

युवाको सहभागिता नारामा सीमित हुनु हुँदैन: पूर्वराष्ट्रपति भण्डारी


काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा युवाहरूको सहभागिता केवल नारामा सीमित हुन नहुने बताएकी छन्।

मदन भण्डारीका विचारसँग आबद्ध विद्यार्थीहरूको संस्था मदन भण्डारी आइडियोलोजी स्टुडेन्ट फोरमले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले राजनीति निर्वाचनका बेला मत माग्ने वा दिने विषय मात्र नभएको बताइन्।

‘राजनीतिमा युवाहरूको सहभागिता केवल नारामा सीमित हुनु हुँदैन । राजनीति निर्वाचनका बेला मत माग्ने वा दिने विषय मात्र होइन,’ उनले भनिन्।

उनका अनुसार समाजलाई बुझ्ने, जनताको आवाज सुन्ने, नीति निर्माणमा आफ्नो भूमिका खोज्ने तथा देशको विकास र परिवर्तनमा रचनात्मक योगदान गर्ने निरन्तर प्रक्रिया नै राजनीति हो।

पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारीको राजनीतिक यात्राबाट आजको पुस्ताले महत्वपूर्ण कुरा सिक्न सक्ने बताउँदै राजनीति जनताबाट अलग भएर गर्न नसकिने धारणा राखिन्। मदन भण्डारीले जनताको भावना, आकाङ्क्षा र वास्तविकतालाई राजनीतिक विचारसँग जोड्ने प्रयास गरेको उनले स्मरण गरिन्।

मदन भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिक प्रक्रियासँग जोड्दै जनताको बहुदलीय जनवाद (जबज) को अवधारणा अघि सारेको उल्लेख गर्दै भण्डारीले लोकतन्त्रलाई निर्वाचनमा मात्र सीमित नराखी जनताको सार्वभौमिकता, राजनीतिक स्वतन्त्रता, मानव अधिकार, बहुदलीय प्रतिस्पर्धा, सामाजिक न्याय र जनसहभागितासँग जोडेर हेरेको बताइन्।

आजको पुस्ताले मदन भण्डारीका विचारलाई जस्ताको तस्तै दोहोर्‍याउनुभन्दा त्यसको मूल मर्म आत्मसात् गर्दै बदलिँदो समय र नयाँ पुस्ताका आवश्यकता तथा सम्भावनाअनुसार अघि बढ्ने बाटो खोज्नुपर्ने उनको भनाइ छ।

‘आज देशमा परिवर्तनका धेरै अपेक्षा छन्। युवा पुस्तामा ऊर्जा छ, नयाँ सोच छ र केही नयाँ गर्ने हुटहुटी छ,’ उनले भनिन्, ‘यही ऊर्जा, सोच र उत्साहलाई देश र समाजको सकारात्मक परिवर्तनमा रूपान्तरण गर्न आवश्यक छ।’

उनले युवाहरूले आफ्ना आकाङ्क्षालाई सिर्जनशील प्रयासमा बदल्दै सुधारका सम्भावना खोज्न र रचनात्मक परिवर्तनमा योगदान गर्न अघि बढ्नुपर्नेमा जोड दिइन्।

पूर्वराष्ट्रपति भण्डारीले देशको भविष्य अरू कसैले बनाइदिने नभई त्यसको जिम्मेवारी युवा पुस्ताकै भएको बताइन्। युवाहरू लोकतन्त्रप्रति प्रतिबद्ध, सामाजिक न्यायप्रति संवेदनशील, राष्ट्रिय हितप्रति सचेत, अध्ययनशील र जिम्मेवार नागरिक बन्न सके नेपालको भविष्यप्रति आशावादी हुने पर्याप्त आधार रहेको उनको भनाइ थियो।