अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले मिसन जागरण अभियान

पार्टी पुनर्गठन होइन, अहिले पुनःजागरणको समय हो: अध्यक्ष केपी ओली

पार्टी पुनर्गठन होइन, अहिले पुनःजागरणको समय हो: अध्यक्ष केपी ओली


विराटनगर-नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा अहिले पार्टी पुनर्गठनको आवश्यकता नरहेको बताएका छन्। अध्यक्ष ओलीले पार्टी पुनर्गठनका नाममा भइरहेको बहसलाई ‘सडक छापका कुरा’ भन्दै अहिलेको आवश्यकता पुनःजागरण र संगठन सुदृढीकरण भएको बताएका हुन्।

झापाको बिर्तामोडबाट आइतबार सुरु भएको एमालेको ‘मिसन पार्टी जागरण’ अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विगतमा भएका पार्टी पुनर्गठनका प्रसंग उल्लेख गर्दै अहिले त्यस्तो अवस्था नरहेको दाबी गरे।

अध्यक्ष ओलीका अनुसार पहिलोपटक २०१९ सालमा पार्टी पुनर्गठन भएको थियो भने २०२८ सालमा आफूहरूको नेतृत्वमा अर्को पुनर्गठन भएको थियो। त्यसपछि २०७७-७८ सालमा पनि आफ्नै नेतृत्वमा पार्टी पुनर्गठन भएको अध्यक्ष ओलीको दाबी छ।

२०७५ सालमा पार्टी एकीकरणपछि एमाले झन्डै दुई तिहाइको शक्तिका रूपमा स्थापित भएको स्मरण गर्दै ओलीले त्यसपछि पार्टीभित्रका केही ‘घुसपैठिया’ र ‘कुण्ठाग्रस्त प्रवृत्ति’का कारण पार्टी विभाजन भएको आरोप लगाए।

‘एमाले सिद्ध्याउँछौँ, केपी ओली सिद्ध्याउँछौँ भनिरहेको बेला हामीले नेपालको कम्युनिस्ट पार्टीमा सबैभन्दा बहुमत भएको पार्टी बनायौँ,’ अध्यक्ष ओलीले भने, ‘पार्टी एकतापछि झन्डै दुई तिहाइको पार्टी बनायौँ। त्यही बेला केही प्रवृत्तिले पार्टी टुक्र्याए।’

आफूलाई यसअघि पनि पार्टीबाट हटाउने प्रयास भएको उल्लेख गर्दै ओलीले विगतमा जेलमा रहँदासमेत आफ्नो पार्टी सदस्यता नरहेको बताए। उनका अनुसार २०२९ देखि २०३३ सालसम्म पार्टी सदस्यता नहुँदा पनि आफूले पुनः पार्टी निर्माणको काममा योगदान दिएका थिए।

एमालेमा देशको विविधता प्रतिबिम्बित भएको दाबी गर्दै ओलीले जातजाति, भाषा, भूगोल तथा उमेर समूहका सबैलाई पार्टीले समेटेको बताए। एमालेले महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश र महिला मुख्यमन्त्री बनाएको पनि उनले उल्लेख गरे।

अहिले पार्टी पुनर्गठनको कुरा वास्तविक नभएको ओलीको भनाइ छ। कुनै कमिटी वा जनवर्गीय संगठनको पुनर्गठन हुनसक्ने भए पनि विगतमा भएका पुनर्गठनजस्तो अहिलेको अवस्था नभएको उनले स्पष्ट पारे।

‘पुनर्गठन भनेको एउटा नीति, गन्तव्य, संघर्ष र कार्यक्रमसम्म नयाँ बनाउने कुरा हो,’ ओलीले भने, ‘आज हामी पुनर्गठनको बेला होइन, पुनःजागरणको कुरा हो।’

पार्टी सदस्यताको तुलनामा मत कम आउनु गम्भीर विषय भएको उल्लेख गर्दै ओलीले एमालेमा वास्तविक नवीकरण र पुनःजागरण आवश्यक रहेको बताए। उनले नयाँ सदस्य थप्दै संगठनलाई चलायमान बनाउन कार्यकर्तालाई आग्रह गरे।

‘रुखमा पलाएजति सबै पात अडिँदैनन्, झर्ने र फेरि पलाउने हुन्छ,’ ओलीले भने, ‘हाम्रो पार्टीमा केही पुराना झरे पनि एमालेको वृक्ष सधैँ झपक्क लागिरहेको हुन्छ।’

पार्टीभित्र असन्तुष्टि व्यक्त गर्ने विषयमा पनि ओलीले नेतृत्वको आलोचना सामाजिक सञ्जाल र हस्ताक्षर अभियानमार्फत नभई पार्टीको आन्तरिक विधिबाट गर्नुपर्ने बताए। अध्यक्ष हटाउन सामाजिक सञ्जालमा अभियान चलाउने वा हस्ताक्षर संकलन गर्ने कार्यलाई उनले अनुशासनहीनता र अराजकताको संज्ञा दिए।

‘पार्टीको विषय हाम्रो आन्तरिक विषय हो। अध्यक्ष हट्नुपर्छ भन्ने कसैलाई लाग्यो भने सामाजिक सञ्जालमा स्ट्याटस लेखेर अध्यक्ष हटाउने, हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने हुन्छ?’ ओलीले प्रश्न गरे, ‘त्यो अनुशासनहीनता हो, अराजकता हो।’

पार्टीभित्र लोकतन्त्र रहेको भन्दै उनले आफूविरुद्धका आलोचना सुन्न तयार रहेको बताए। तर पार्टीका विषय बाहिर लगेर विरोधीका लागि हाँसोको विषय बनाउन नहुने उनको भनाइ थियो।

ओलीले पार्टीभित्र अवसर पाएका केही व्यक्तिमात्र असन्तुष्ट रहेको दाबीसमेत गरे। ‘पाएका असन्तुष्ट छन्, खाएका असन्तुष्ट छन्, पर्याप्त अवसर लिनेहरू असन्तुष्ट छन्,’ उनले भने।

कार्यक्रममा आफूले कार्यकर्तालाई हप्काउने गरेको भन्ने प्रचारप्रति पनि ओलीले असन्तुष्टि जनाए। उनले आफूले कसैलाई हप्काउने वा अपमान गर्ने व्यवहार नगरेको दाबी गर्दै पार्टीमा कोही मालिक र कोही दास नभएको बताए।

‘मैले हप्काएर मान्छे बेहोस भयो भनेर प्रचार भएको छ,’ ओलीले भने, ‘मैले जीवनमा अहिलेसम्म कडा बचन, कडा स्वर कहिल्यै कसैलाई भनेको थिएँ भने हात उठाएर भन्नुहोस्। यहाँ कोही मालिक र कोही दास छैनन्।’

उनले पार्टीभित्र मतभेद र आलोचना स्वाभाविक भए पनि त्यसका लागि पार्टीको विधि र अनुशासन पालना गर्नुपर्नेमा जोड दिए।