काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपाका नेता शक्ति बस्नेत र नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसाललाई अलगअलग बसिरहनुपर्ने आवश्यकता नभएको बताएका छन्। महासचिव पोखरेलले कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन दुवै नेता एकै ठाउँमा बसेर अघि बढ्न सुझाव दिएका छन्।
आइतबार आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक बहस कार्यक्रममा बोल्दै महासचिव पोखरेलले विगतमा फरक राजनीतिक कार्यदिशा लिएर हिँडे पनि वर्तमान अवस्थामा सहकार्यको आवश्यकता रहेको बताए।
‘हिजो हामी फरक राजनीतिक कार्यदिशा बोकेर हिँडेका भए पनि आजको समाजमा खेलिरहेको भूमिका र समस्यामा साथै हिँड्नुपर्ने बाटोका हिसाबले अलग बसिरहनुपर्ने आवश्यकता देख्दिनँ,’ महासचिव पोखरेलले भने।
महासचिव पोखरेलले इतिहासबाट पाठ सिक्नुपर्ने तर भविष्य निर्माणका लागि विगतको भारी बोकेर हिँड्न नहुने बताए। ‘इतिहासबाट जसले सिक्दैन, सजाय पाउँछ। तर भविष्यको निर्माण इतिहासको भारी बोकेर हुँदैन,’ महासचिव पोखरेलले भने।
महासचिव पोखरेलले वर्तमानका समस्या समाधानका लागि नयाँ योजनासहित अघि बढ्नुपर्नेमा जोड दिए। समय र परिस्थिति परिवर्तन भइसकेकाले समस्याको समाधान खोज्ने तरिका पनि नयाँ हुनुपर्ने उनको भनाइ थियो।
‘नयाँ समस्याको समाधान पुराना तरिकाबाट खोज्दा हामी असफल भयौँ,’ महासचिव पोखरेलले भने।


प्रतिक्रिया