काठमाडौं-नेपाल आयल निगमले खाना पकाउने एलपीजी ग्यासको बिक्री-वितरण भदौ १ गते सोमबारदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेता तथा वितरकमार्फत नियमित प्रक्रियाअनुसार नै हुने जनाएको छ। निगमले उपभोक्तालाई आफूलाई पायक पर्ने ग्यास विक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न आग्रह गरेको छ।
ग्यास बिक्री–वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन निगमले उद्योग तथा विक्रेताका लागि विभिन्न व्यवस्था गरेको जनाएको छ। जसअनुसार ग्यास उद्योगहरूले दैनिक बिक्री गर्ने विक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र सिलिन्डर सङ्ख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ बजेभित्र निगमलाई उपलब्ध गराउनुपर्नेछ।
त्यस्तै, ग्यास विक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम र सम्पर्क नम्बरसहितको विवरण दैनिक रूपमा तयार गरी सम्बन्धित उद्योगलाई उपलब्ध गराउनुपर्नेछ। उद्योगहरूले उक्त विवरण सोही दिन नेपाल आयल निगमलाई बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
निगमका अनुसार ग्यास बिक्री गर्दा अत्यावश्यक घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राख्नुपर्नेछ।
ग्यास ढुवानी तथा वितरणका क्रममा सुरक्षाको दृष्टिले आवश्यक सहजीकरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई गृह मन्त्रालयमार्फत अनुरोध गरिएको निगमले जनाएको छ। साथै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँगको समन्वयमा निगमबाट खटिएका जनशक्तिसहितको संयुक्त टोलीमार्फत ग्यास वितरण कार्यको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ।
नजिकका विक्रेताबाट कुनै कारणवश ग्यास प्राप्त गर्न नसकेका तथा तत्काल ग्यास आवश्यक परेका उपभोक्ताले निगममा सञ्चालनमा रहेको क्वीक रेस्पोन्स टिम (क्यूआरटी) मा सम्पर्क गर्न सक्नेछन्। निगमले क्यूआरटीका लागि ९८५१४५५१२४ र ९८५१४५५१२८ नम्बर सार्वजनिक गरेको छ।
निगमले ग्यास बिक्री–वितरणलाई व्यवस्थित बनाउन गरिएको व्यवस्थाको पालना गरी उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।



प्रतिक्रिया